INSEC Online

📅 २०८३ श्रावण १

हिंसा पीडित महिलालाई कानुनी प्रकृयामा जान इन्सेकको सहयोग

मालिका गाउँपालिकाकी आर्थिक अवस्था कमजोर भएकी २० वर्षिया हिंसा पीडित महिलालाइ अनौपचारीक क्षेत्र सेवा केन्द्र(इन्सेक) म्याग्दीले न्यायिक प्रकृयामा जान आर्थिक सहयोग गरेको छ ।

महिलाले आफू हिंसामा परेको र कानुनी सहायतका लागि जान आर्थिक अभाव भएको भन्दै मालिका गाउँपालिकामा निवेदन दिनुभएको थियो । मालिका गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले अनौपचारीक क्षेत्र सेवा केन्द्र(इन्सेक) म्याग्दीलाई पीडितको निवेदन सहित सहायताका लागि सिफारिस गर्नुभएको थियो ।

पीडित महिलाको जन्मदर्ता तथा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनका लागि पनि उहाँ सँग आर्थिक अभाव भएको भन्दै गाउँपालिकाको न्यायीक समितिमा निवेदन दिनुभएको थियो ।

उक्त शिफारिसका आधारमा इन्सेक केन्द्रीय तथा प्रदेश कार्यालयबाट प्राप्त पाँच हजार रुपियाँ ०७९ माघ २५ गते पीडित महिलालाई हस्तान्तरण गरिएको हो ।

मालिका गाउँपालिकाको न्यायीक समितिका संयोजक एवम् उपाध्यक्ष पुनले इन्सेक मार्फत प्राप्त भएको रकम पीडित महिलालाई हस्तान्तरण गर्नुभएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हेमराज काफ्लेले बताउनुभयो ।

पीडित महिलाले कुनै सिप सिक्न चाहेमा तालिम सहित आवश्यक सामग्री समेत उपलब्ध गराउने प्रतिबद्धता समेत प्रमुख काफ्लेले जनाउनु भएको छ ।

पीडित महिलाले आफ्नो जन्मदर्ता गर्नका साथै नेपाली नागरिकताको प्रमाणपत्र बनाउनका लागि पनि आफुले सहयोगबाट प्राप्त रकम खर्चिने बताउनुभयो ।

victim help

अन्य

भिडियो