छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरास्थित प्राथमिक स्वास्थ्य केन्द्र करिब पाँच वर्षदेखि चिकित्सक विहीन बनेको छ । दरबन्दीमा रहेका डाक्टर बढुवा भएर गएको र नयाँ डाक्टर नआउँदा डाक्टर विहीन बनेको हो । पछिल्लो पटक कार्यरत डा. हेमराज शर्मा अध्ययन विदा सक्ने बित्तिकै बढुवा भएर गएपछि करिब पाँच बर्षदेखि स्वास्थ्य केन्द्र डाक्टर विहीन बनेको हो ।
प्राथमिक स्वास्थ्य केन्द्रमा १२ जनाको दरबन्दी छ । तर दरबन्दी र करार गरेर अहिले सात जना मात्रै कार्यरत रहनु भएको छ । यहाँ एमविविएस डाक्टर एक जनाको दरबन्दी छ । यस्तै हेल्थअसिस्टेन एक जना, स्टाफ नर्स एक जना, अहेव÷सिअहेव तीन जना, अनमी दुई जना, ल्यावअसिस्टेन्ट एक जना र कार्यालय सहयोगी तीन जनाको दरबन्दी छ । तर अहिले अहेव दुई जना, करारमा सहित अनमी तीन जना र दुई जना कार्यालय सहयोगी गरेर सात जना मात्रै कार्यरत रहनु भएको छ । यहाँ डाक्टर, हेल्थअसिस्टेन्ट, स्टाफ नर्स, ल्यावअसिस्टेन्ट लगाएको दरबन्दी रिक्त रहेको छ ।
दरबन्दी अनुसारको जनशक्ति नहुदाँ स्थानीय नागरिक बिशेषज्ञ सेवाबाट बञ्चित भएका छन् । स्वास्थ्य केन्द्रमा एक्स–रे लगाएतका मेसिन छन् । तर जनशक्ति नहुँदा भएका उपकरण पनि सञ्चालन गर्न नसकिएको प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त इन्चार्ज वीरबहादुर वलीले जानकारी दिनु भएको छ । उहाँले डाक्टर लगाएतका अन्य जनशक्ति नहुँदा इमरजेन्सी लगाएतका सेवा प्रदान गर्न नसकिएको बताउनु भयो ।
‘हामीले सामान्य खालका रोगको उपचार गर्ने हो, तर जनशक्ति नहुँदा स्थानीयले स्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन्, हामीले सक्ने उपचार सेवा दिदैँ आएका छौँ’ उहाँले भन्नुभयो ‘यति लामो समयसम्म डाक्टर किन आउनु भएन, त्यो थाहा छैन् ।’ उहाँले जनशक्ति अभावमा दुई बर्षदेखि खकार जाँच लगाएतका सेवा पनि प्रभावित भएको बताउनुभयो ।
‘सामान्य जाँच बाहेक एक्स–रे, खकार जाँच लगायतका लागि नागरिकलाई जिल्ला अस्पताल पठाउनुपर्ने बाध्यता छ, यसले नागरिको स्वास्थ्य सेवालाई थप खर्चिलो बनाएको छ’ उहाँले भन्नुभयो ‘उपकरण छ, प्रयोग गर्ने जनशक्ति छैन् ।’ सिमित जनशक्ति हुँदा पनि उपचार सेवा भने प्रभावित नभएको उहाँको भनाइ छ ।
प्राथमिक स्वास्थ्य केन्द्र विगत पाँच बर्षदेखि नै अहेव र अनमीकै भरमा चलेको छ । छत्रेश्वरी गाउँपालिका भित्रको एक मात्र तीन शैयाको स्वास्थ्य केन्द्रमा वर्षौसम्म डाक्टर नआउँदा बिरामीलाई जिल्ला अस्पतालमा रिफर गर्ने गरिएको छ । पहिला अधिकाश समस्याहरू स्वास्थ्य केन्द्रमै उपचार हुने भएपनि अहिले डाक्टर नहुँदा स्थानीयले दुख पाईरहेका छन् ।
स्थानीय वुद्धिजिवी शिवप्रसाद केसीले भन्नु भयो ‘नागरिकले गाउँमै उपचार पाउँदा खर्च हुन्थेन्, तर सामान्य विरामीलाई पनि जिल्ला अस्पताल पु¥याउनुपर्छ, गाउँको अस्पतालमा डाक्टर नहुँदा महङगो उपचार गराउन स्थानीय बाध्य भएका छन् ।’ चिकित्सक पठाई दिन पटक–पटक अनुरोध गर्दा पनि सम्बन्धित निकायले सुनुवाई नगरेको उहाँको गुनासो छ । उहाँले दक्ष जनशक्ति नभएका कारण उपचार तथा स्वास्थ्य परिक्षणमा समस्या भइरहेको बताउनु भयो ।