INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य संस्थामा जीवनजलसमेत छैन

बाजुराको विकट उत्तरी भेगमापर्ने हिमाली गाउँपालिका साविकको बिच्छया स्वास्थ्यचौकीमा सामान्य जीवनजल समेतको अभाव रहेको राससले जनाएको छ ।

दैनिक झाडापखालाका दशदेखि बाह्रजनासम्म बिरामी आउने भए पनि सामान्य जीवनजलसमेत नभएको स्वास्थ्य चौकीका इञ्चार्ज कमल आचार्यले बताए ।

छोरालाई झाडापखालाको उपचारका लागि आएकी बिच्छया नेटाकी सुनकला रोकायाले सामान्य जीवनजलसमेत नपाएर रित्तो हात घर फर्किइन् । उनी जस्तै दैनिक दशदेखि बाह्रजना झाडापखालाको उपचारका लागि आउने बिरामीले सामान्य जीवनजलसमेत नपाउने गरेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा फोनमार्फत खबर गरेको भए पनि जिल्लाबाट नै नआएको इञ्चार्ज आचार्यले बताए । बिच्छयामा निजी औषधि पसलसमेत नभएकाले यहाँका बिरामी दुई तीन दिन लगाएर कोल्टी उपचारका लागि जान बाध्य भएका छन् । बिच्छया स्वास्थ्य चौकीमा जीवनजल अभाव भएको दुई साता भइसकेको छ । त्यस्तै सिटामोल, आँखा पाकेको र कान पाकेको निको पार्ने औषधिलगायत एन्टिबाइटिककोसमेत चरम अभाव रहेको छ ।

परिवार नियोजनका साधनको अभाव भएको महिनौ भइसकेको छ । कण्डम, पिल्स, डिपो लगाउने सिरिन्जलगायतका परिवार नियोजनका साधन अभाव भएको एक महिनाभएको स्वास्थ्य चौकीमा कार्यरत अनमी सीता थापाले बताइन् ।

दैनिक सात आठजना परिवार नियोजनको साधनका लागि आउने गरेका छन् । यो स्वास्थ्य संस्था सदरमुकाम मार्तडीबाट चार दिनको पैदल दुरीमा रहेको छ । यहाँ सधैँजसो औषधि अभाव भइरहने गरेको छ । जिल्लामा पटक/पटक खबर गर्छौ, थौरै औषधि मात्र पठाउँछन्, त्यो त मन्दिरको प्रसाद बाँडे झै गर्नुपरेको चौकीका इर्न्चाज आचार्यको भनाइ छ ।

धेरै विकट भएकाले राज्यको पहुँच पनि नहुने गरेको छ । जिल्लाबाट कहिल्यै स्वास्थ्य संस्था अनुगमन नहुने गरेको स्थानीयबासी डबल थापाले बताए ।

स्वास्थ्य केन्द्रमा ३५ प्रकारका औषधि अनिवार्य भए पनि १०/१२ प्रकारका मात्र रहेको संस्थाले जनाएको  छ । एकातिर औषधि अभाव अर्कोतिर स्वास्थ्यकर्मीको अभाव रहेको बताइएको छ । अहिले एक जना अहेब, एकजना करार अनमी र एकजना कार्यालय सहयोगी मात्र रहेका छन् । एक जना एचए, एकजना अहेब, एकजना अनमीको दरबन्दी रिक्त रहेको छ ।

दरबन्दीअनुसार स्वास्थ्यकर्मी नभएकाले उपचारमा समस्या भएको छ । बिच्छया मात्र नभई बाजुराका उत्तरी क्षेत्रका रुगिन, वाई, गोत्री, साप्पाटालगायतका स्वास्थ्य संस्थामा औषधिको अभाव रहेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।

औषधि अभाव भएको खबरले क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट औषधि माग गरिएको भए पनि क्षेत्रीय कार्यालयमा नै औषधि अभाव रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत रमेश कुवँरले बताए ।

अन्य

भिडियो