१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ ।
जिल्ला न्यायाधीश पीताम्बर शर्माको इजालाशले अभियुक्तलाई १३ वर्षको कैद र ५ लाख रुपियाँ पीडितले क्षतिपुर्ति पाउने गरी फैसला गरेको जिल्ला अदालतका नायब सुब्बा कमलप्रसाद ढुङ्गानाले बताउनु भयो ।
बालिकालाई घर पुर्याइ दिन्छु भनेर आरोपितले मोटरसाइकलमा लगेर २०७८ फागुन १५ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले फागुन १६ गते जिल्ला प्रहरी कार्यालय, अछाममा उजुरी गरेका थिए ।
राष्ट्रिय माध्यामिक विद्यालयका शिक्षक समेत रहेका आरोपितलाई फागुन १६ गते ईलाका प्रहरी कार्यालय, ठाँटीले गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालय, मंगलसेन पुर्याएको थियो । पीडितको स्वास्थ्य परीक्षण फागुन १६ गते नै जिल्ला अस्पताल, अछाममा गरिएको थियोे ।
प्रहरीले सरकारी वकिल कार्यालयमार्फत २०७८ चैत ८ गते जबरजस्तीकरणी मुद्दा जिल्ला अदालतमा दर्ता गरेकोमा जिल्ला अदालतले चैत ११ गते आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो