१३ वर्षीया बालिकालाई बालयौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले सूर्योदय नगरपालिका–४ का ६३ वर्षीय विष्णुभक्त ढकाललाई ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको माघ १७ गतेको इजलासले कसुर गरेको ठहरी गरी कसुरदारले पीडितलाई क्षतिपूर्ति १० हजार रुपियाँ र पीडित राहत कोषमा २ सय रुपियाँ भराउन आदेश भएको अदालतका सूचना अधिकारी फणिन्द्रराज भट्टराईले बताउनु भयो ।
पीडित बालिकालाई ०७९ साउन २ गते बालयौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७९ साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
आरोपितलाई प्रहरीले साउन १२ गते गिरफ्तार गरी सोही दिन जिल्ला अदालतमा बालयौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ साउन १२ गते गरिएको थियो ।