मोरङ, विराटनगर महानगरपालिका–१५ स्थायी घर भई यातायात व्यवस्था सेवा कार्यालय धनकुटामा प्रमुख पदमा कार्यरत ४२ वर्षीय बाबुराम लुइँटेललाई मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका–७ हुलाक टोलका २२ वर्षीय टेकु ओझालाई गिरफ्तार गरेको छ ।
सवारी चालक अनुमतिपत्र(लाइसेन्स) वितरण गर्दा घुस खाएको आरोपमा लुइँटेललाई माघ ११ गते कार्यकक्षमा मोसो दलेर दुर्व्यवहार गरिएको थियो ।
घटनाका आरोपितविरूद्ध पीडितले माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
उजुरीका आधारमा आरोपितलाई माघ १३ गते धनकुटाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी लक्ष्मीराज अधिकारीले बताउनु भयो ।
लुइँटेलले घुस खाएको र सरकारी रकम हिनामिना गरेको आरोपमा नेकपा बहुमत पार्टीले मोसो दलेर सजाय दिएको बहुमत पार्टीका धनकुटा संयोजक मोहन घलले बताउनु भयो ।
बहुमत पार्टीले माघ १५ गते विज्ञप्ति जारी गरी आफ्ना कार्यकर्ताको रिहाइको माग गरेको छ ।
