राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको टोलीले जेठ १९ गते सरोकारवालाहरूसँग जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा छलफल गरेको छ ।
आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलको नेतृत्वमा रहेको टोलीले जिल्लाका सरकारी कार्यालयका प्रमुख र जिल्लाका मानव अधिकारकर्मी, पत्रकार, बार एशोसियसन, महिला मानव अधिकारकर्मी, द्वन्द्वपीडित, स्थानीय शान्ति समितिका संयोजकसँग दुई चरणमा छलफल गरेको थियो ।
छलफलका क्रममा जिल्लामा सबैभन्दा कमजोर रहेका मानव अधिकारका विषयमा छलफल गरिएको थियो । छलफलका क्रममा उठेका विषयवस्तुमा प्रशासनले केही समयअघि सदरमुकाम लिबाङबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिरहेका नेपाल कम्युनिष्ट पार्टीका दुई जना कलाकारलाई गिरफ्तार गरी अहिले हिरासतमा राखेको र ति मध्ये एक जना बालक रहेकोमा आयोगको ध्यानाकर्षण भएको जनाइएको थियो ।
यस्तै आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई मतदान केन्द्रसम्म पुर्याउन निर्वाचन आयोगले कुनैपनि व्यवस्था नगरेकोमा पनि आयोगको ध्यानाकर्षण भएको क्षेत्रीय निर्देशक खरेलले बताए ।
छलफलमा सहभागिहरूले जिल्लामा बालविवाह, बालश्रम, महिला हिंसा, द्वन्द्व पीडितहरूले न्याय नपाएका जस्ता विषयमा आयोगको ध्यानाकर्षण गराएका थिए ।