आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेकी लेकवेसी नगरपालिका –५ की २२ वर्षीया प्रेमदेवी विकलाई माघ १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि आर्थिक सहयोग गरेको छ ।
पीडित विकका पति दुर्गा विकले पटक पटक कुटपिट गर्ने तथा घरका अन्य सदस्यले समेत विभिन्न आरोप लगाउनुका साथै गाली गर्दै आएको पीडितको गुनासो छ ।
पीडित प्रेमदेवीका पतिले झुटा आरोप लगाउदै जिल्ला अदालत सुर्खेतमा सम्बन्ध विच्छेदको मुद्दा दिएपछि कानुनी प्रक्रियामा जानलाई आर्थिक समस्या भएपछि मानव अधिकार सहायता कक्षमा पीडितले ०७९ मङ्सिर ९ गते सहयोगका लागि निवेदन दिनुभएको थियो ।
मानव अधिकार सहायता कक्षको माघ ६ गते बसेको बैठकले पीडितलाई सात हजार रुपियाँ सहयोग गर्ने निर्णय भएबमोजिम पीडितलाई सहयोग गरिएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताउनु भएको छ ।
पीडितलाई न्याय प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्रा खर्च लगायतका शिर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको परियोजना संयोजक किरण पौडेलले जानकारी दिनु भएको छ ।
