दोलखाको गौरीशंकर गाउँपालिका-१ मा कार्यरत तीन जना कर्मचारीलाई सेवाबाट हटाइएपछि माघ १ गतेदेखि स्वास्थ्य केन्द्रमा तालाबन्दी गरिएको छ ।
गौरीशंकर गाउँपालिका-१ मा कार्यरत कार्यालय सहयोगी राधा खड्का खत्री, आधारभुत स्वास्थ्य केन्द्रकी अहेव अप्सरा बुढाथोकी र अनमी सिर्जना खड्कालाई सेवाबाट हटाइएको हो ।
गाउँपालिका अध्यक्ष र वडा अध्यक्षले आफूहरूलाई अन्याय र विभेदपूर्ण रुपमा हटाएको भन्दै उनीहरूले आधारभुत स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका छन् ।
तालाबन्दीपछि कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा गाउँपालिकाले आफुहरूमाथि अन्यायपूर्ण निर्णय गरेकाले स्वास्थ्य केन्द्रमा तालाबन्दी गर्नुपरेको उल्लेख गरेका छन् ।
स्वास्थ्य केन्द्रकी अहेव अप्सरा बुढाथोकीले गाउँपालिकाले निर्णय नसच्याएसम्म आन्दोलन गर्ने बताइन् । स्थानीय जनप्रतिनिधिहरूले पुर्वाग्रहका आधारमा लामो समयदेखि काम गर्दै आएका अनुभवी करारका कर्मचारी हटाउन थालेपछि विरोध हुँदै आएको छ ।