नौकुण्ड गाउँपालिका–१ मा रहेको यार्सा स्वास्थ्य चौकीमा औषधि तथा स्वाथ्यकर्मी अभाव भएको स्थानीयले गुनासो गरेका छन् ।
सरकारले स्वास्थ्य संस्थामा निशुल्क औषधि उपचार गर्ने भने पनि ज्वरो आउने, जीउ दुख्ने जस्तो समस्यामा औषधि नभएको भन्दै औषधि किनेर ल्याउन भनेको यार्साका बुधराम तामाङले बताउनुभयो ।
औषधि पनि छैन कर्मचारी पनि समयमा आउँदैनन् सरकारी निशुल्क औषधि पाउन सकिएन तामाङले भन्नुभयो । सरकारले निशुल्क औषधि पठाउने भने पनि सेवाग्राहीले औषधि नपाएको गुनासो गरेका छन् ।
नौकुण्ड गाउँपालिकाभरका ५ ओटा वर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी गराउने एसबिए तालिम प्राप्त कर्मचारी समेत अभाव भएको छ ।
नेपाल सरकारले ३५ किसिमका औषधि स्वास्थ्य चौकीबाट निशुल्क उपलब्ध गराउने भनेपनि औषधि अभाव भएकोले स्थानीय मर्कामा परेका हुन् ।
एसविए तालिम लिएका कर्मचारी सरुवा भएकोले अभाव भएको हो गाउँपालिकाले करारमा स्वास्थ्यकर्मी राखेर नियमित काम चलाउन थालेको छ ।
स्वास्थ्य चौकीमा केही औषधि सकिएको खबर आएकोले तत्काल पठाउने व्यवस्था मिलाउने नौकुण्ड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अणप्रसाद पौडेलले बताउनुभयो । रिक्त कर्मचारी प्रदेश लोकसेवा आयोगमा मागेर पठाएको पनि पौडेलले बताउनुभयो ।