खानिखोला गापा–२ फलामेटार स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा समस्या भोग्नु परेको सेवाग्रहीहरूले गुनासो गरेका छन् ।
स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा रुघाखोकी, ज्वरो र गर्भवती महिलाहरूले नियमित स्वास्थ्य परीक्षणमा समस्या भएको स्थानीय रविन्द्र तामाङले बताउनुभयो । तामाङका अनुसार स्वास्थ्य चौकीका प्रमुख रामरतन यादव र हेल्थ असिस्टेन्ट नवमुना खड्का मङ्सिरदेखि स्वास्थ्य चौकीमा उपस्थित नहुँदा सेवाग्राही समस्यामा परेको हो ।
स्वास्थ्य चैकीमा कार्यरत निरुता थिङ दुई महिनाका लागि तालिममा रहेको स्वास्थ्य चौकीका प्रमुख रामरतन यादवले बताउनुभयो । स्वास्थ्य चौकीमा कार्यालय सहयोगी सहित ६ जना कर्मचारी कार्यरत छन् । प्रमुख यादवले आफू कार्यालयकै कामका लागि सदरमुकाम आउने जाने गरेको बताउनुभयो ।
वडाका स्थानीय कमान गोलेले आफ्नो पत्नी नियमित गर्भवती परीक्षणका लागि स्वास्थ्य चौकीमा पुग्दा स्वास्थ्यकर्मी नभएका कारण समस्या भोग्नु परेको बताउनुभयो ।
नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था अनुसार प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुनेछ भनेर उल्लेख गरेपनि खानीखोलाका नागरिकलाई आधारभुत स्वास्थ्य सेवाबाटै बञ्चीत गराएको खानीखोला वडा नं ६ का समाजसेवी मानबहादुर गोलेले बताउनुभयो ।