जिल्ला कारागार शाखा दोलखामा क्षमता भन्दा तेब्बर कैदी बन्दी राखिए पछि यहाँ रहको कैदी तथा बन्दीहरूलाई स्वास्थ्य समस्या देखिन थालेको छ ।
जिल्ला सदरमुकाम चरिकोटमा रहेको कारागारको क्षमता ५१ जनाको भए पनि हाल कारागारमा १ सय ४४ जना कैदीबन्दी राखिएपछि स्वास्थ्य समस्यासँगै खानेपानीको अभाव छ भने शौचालयको समेत समस्या हुने गरेको छ ।
हाल कारागारमा ९८ जना कैदी र ४६ थुनुवा गरी १ सय ४४ जना कैदीबन्दी रहेको निमित्त जेलर पदरमबहादुर केसीले जानकारी दिनुभयो ।
उहाँले क्षमता भन्दा बढी बन्दी हुनु र हिउँद याममा पानीको अभाव हुँदा कपडा समयमा सरसफाई गर्न र नुहाउन समेत पालो पर्खनुपर्ने भएकोले छाला तथा पेटका बिरामी बढेको बताउनुभयो ।
कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राखिएको कारण बन्दीहरूमा स्वास्थ्य समस्या देखिनुका साथै शौचालय जान, नुहाउन र सुत्न समेत कठिनाई खेप्नु परेको कैदी अशोक केसीले बताउनु भयो ।
कारागारका स्वास्थ्यकर्मी चन्द्रबहादुर खड्काले पहिले भन्दा बिरामीको सङ्ख्या दैनिक दुई चार जना बढेको र महिनामा १० जनासम्मलाई जिल्ला बाहिर उपचार गर्न पठाउनु परेको बताउनु भयो ।
क्षमता भन्दा बढी कैदी बन्दी थुप्रिएर अहिले कारागारमा खान, बस्न, सुत्न तथा सरसफाईमा मात्र हैन छाला, स्वासप्रस्वास तथा एलर्जिका बिरामी हुने स्वास्थ्य समस्या देखिएको स्वास्थ्यकर्मी खड्काले बताउनु भयो ।
जिल्ला कारागार शाखा दोलखामा पुरुष कैदी बन्दी मात्र राखिन्छ । महिलालाई भने छिमिकी जिल्ला रामेछाप वा अन्य कारागार पठाउने गरिएको छ ।
कारागारमा बन्दीहरूको नियमित स्वास्थ्य परिक्षण हुने गरेको छ भने आफन्तसँग भेटघाटको लागि उचित प्रबन्ध गरिएको जेलर केसीले जानकारी दिनुभयो ।
