INSEC Online

📅 २०८३ जेष्ठ २१

अदालतको आदेश कार्यान्वयन नहुँदा नागरिकताबाट वञ्चित

महालक्ष्मी नगरपालिका–७ अर्खौले जितपुरका २२ वर्षीय खेमराज अधिकारीले अदालतको आदेश कार्यान्वयन नहुँदा नेपाली नागरिकताको प्रमाणपत्रबाट आफू वञ्चित हुनु परेको गुनासो गर्नु भएको छ ।उच्च अदालत विराटनगर, धनकुटा इजलासले ०७९ कात्तिक १२ गते खेमराज अधिकारीलाई नागरिकता दिलाउनु भनि दिएको आदेशअनुसार महालक्ष्मी–७ वडा कार्यालयले सिफारिस नगरिदिँदा नागरिकता पाउनबाट वञ्चित भएको अधिकारीको गुनासो छ ।
अधिकारीले अदालतको आदेशको प्रतिलिपी लिएर लगातार एकसाता वडा कार्यालय धाउँदा पनि सिफरिस नदिएको बताउनु भएको छ ।
बाबु जङ्गमणि अधिकारीले अर्की पत्नी विवाह गरेर भक्तपुर बस्दै आएको र जन्मदर्ताको आधारमा मुद्दा दायर गरेर सोही अनुसारको अदालतबाट आदेश भएको खेमराजको भनाइ छ ।
०७९ पुस १४ गतेदेखि अदालतको फैसला लिएर वडा कार्यालय जाँदा वडाध्यक्ष नेत्रप्रसाद अधिकारी निवेदन दर्तासम्म नगरेको अधिकारीको आरोप छ ।
बाबु जङ्गमणिलाई पटकपटक नाता प्रमाणित गरेर नागरिकता बनाइदिन अनुरोध गर्दा नमानेपछि ०७६ पुस १९ गते उच्च अदालत विराटनगर, धनकुटा इजलासमा नाता प्रमाणित र अंशवण्डा मुद्दा दर्ता गर्नुपरेको खेमराजको भनाइ छ ।
करिव ३ वर्षपछि मुद्दाको फैसला भयो । उहाँलाई अदालत न्याय दियो । ०७९ पुस १२ गते अदालतका न्यायाधीश फुर्वा तामाङले जङ्गमणि कै छोरा खेमराज भएको कागजातबाट खुल्न आएको भनी फैसला गर्नु भएको छ ।
फैसलाले खेमराजलाई नागरिकता दिलाउन जिल्ला प्रशासन कार्यालय र महालक्ष्मी– ७ को वडा कार्यालयलाई आदेश दिएको छ । आदेशमा जङ्गमणिले अंश भराउनु पर्ने उल्लेख छ ।
तर, वडा कायालयले नागरिकताको सिफारिस नगरेको तथा बाबु जङ्गमणिले अंशमा कुनै चासो नदिएको आरोप खेमराजको छ । जसका कारण अदालतले खेमराजलाई नागरिकतासहित अंश दिलाउन आदेश दिएको भएपनि नागरिकता नै नबन्दा समस्या भएको छ ।
बाबुले आमा कुलदेवी रायाको नागरिकता नबनाएपछि मावलीले आमाको नागरिकता बनाइदिएको खेमराज अधिकारीले बताउनु भयो ।
अदालतले पुस १२ गते फैसला गरेको र १४ गतेदेखि वडा कार्यालय धाउँदा वडाध्यक्षले १७ गते, १८ गते भन्दै टारेको त्यसपछि भोलि भन्दै १९ गते पुर्याएको त्यसपछि २० गते आउनु भनेको तर काम नगरेको खेमराजको आरोप छ ।
वडाध्यक्ष नेत्रबहादुर अधिकारीले पुस २० गते सिफारिस दिन्छु भनेपछि आफूले घरपरिवार र ३०-३५ जना छिमेकी लिएर वडा कार्यालय जाँदा सबैका अगाडि सिफारिस दिन्छु भनेपनि अरू हिँडेपछि आनाकानी गरेको खेमराजले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।
बाबु जङ्गमणिले दोस्रो बिहे गरेर भक्तपुर बस्दै आएको र नागरिकता दिए अंश दिनुपर्ने भनेर बाबुले नै नागरिकताको सिफारिस दिन वडाध्यक्षलाई रोकेको अधिकारीको भनाइ छ । वडाअध्यक्ष नेत्रबहादुर अधिकारी ठूलो बाबु पर्ने भएकाले पारिवारिक कारणले सिफारिस नदिएको आरोप खेमराजको छ ।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले वडा कार्यालयबाट सिफरिस लिएर आउन भनेको र सिफारिस नआएकाले मात्रै नागरिकताको काम रोकिएको बताउनु भयो ।
वडाअध्यक्ष नेत्रबहादुर अधिकारीले हाल सर्वोच्चमा मुद्दा विचाराधिन रहेको कारणले सिफारिस नदिएको इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।
वडाध्यक्ष अधिकारीले जङ्गमणिले कुलदेवी, खेमराज, वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय धनकुटा र उच्च अदालतलाई विपरित बनाएर दायर गरेको मुद्दा सर्वोच्चमा विचाराधिन रहेको बताउनु भयो ।
सबै कागजपत्र दुरूस्त भएमा सिफारिस गर्ने हो, सर्वोच्चमा मुद्दा विचाराधिन रहेको कारण सिफारिस गर्न नसकेको वडाध्यक्ष नेत्रबहादुरले बताउनु भयो । सर्वोच्चमा डिएनए टेष्ट गरी पाउँ, उच्च अदालतको एकोहोरो फैसला भएको भनि मुद्दा दायर गरेको जानकारीमा आएको वडाध्यक्ष अधिकारीको भनाइ छ ।
सर्वोच्चको फैसला नआएसम्म सिफारिस नगर्ने र वकिलको परामर्शमा काम गरेको वडाध्यक्ष अधिकारीले बताउनु भयो ।
वडाध्यक्ष अधिकारीले कुलदेवी राया आफ्नो मामाको छोरी र जङ्गमणि काकाको छोरा भएको बताउनु भयो ।
पुस १५ र १६ गते सार्वजनिक विदा रहेको र १७ गते पारिवारिक कारणले खाँदवारी गएर १८ गते आएका कारण खेमराजको विषयमा छलफल गर्न नपाएको अधिकारीले बताउनु भयो ।
वडाध्यक्ष अधिकारीले पुस १९ गते वडा कार्यालयमा निवर्तमान वडाध्यक्षसहित भद्र भलादमी राखेर छलफल गरेको भएपनि सिफारिस दिने विषय टुङ्गो नलागेको बताउनु भएको छ ।

Photo 20230106 Dhankuta (2)

Photo 20230106 Dhankuta (1)

  Photo 20230106 Dhankuta (3)

Photo 20230106 Dhankuta (6)

Photo 20230106 Dhankuta (7)

Photo 20230106 Dhankuta (5)

अन्य

भिडियो