INSEC Online

📅 २०८३ जेष्ठ २१

कुमाल समुदायका बालबालिका आधारभूत शिक्षाबाट वञ्चित

नेपालको संविधान २०७२ ले धारा ३१ मा शिक्षा सम्बन्धी हकलाई व्यवस्था गरेको छ ।

सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिर्वाय र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने हक हुनेछ भनि व्यवस्था गरेको छ ।

तर, जिल्लाको षडानन्द नगरपालिकामा पर्ने मथेटार गाउँका कुमाल बालबालिका आधारभूत शिक्षा लिनबाट वञ्चित हुनु परेको छ ।

अरूण नदीको किनारमा पर्ने यो गाउँमा लोपोन्मुख कुमाल समुदायको बस्ती छ । बस्तीमा ३५ कुमाल घरधुरी छन् ।

३५ घरधुरीमध्ये ६- सात परिवारको त आफ्नो घर जग्गा नै छैन । अरूकै जग्गामा बबिबुतो गरेर जीवन निर्वाह गरिरहेका छन् ।

कुमाल समुदायका मानिसको दिनचर्या कुटो कोदालो, माटाका भाँडा तथा अरूण नदीमा माछा मारेर विक्री वितरण गरी जीवन निर्वाह गर्दै आएका छन् ।

गरीबीकै कारण कुमाल समुदायका अधिकांश बालबालिका आधारभूत शिक्षाको पहुँच भन्दा बाहिर छन् । मथेटार गाउँमा कक्षा तीनसम्म पढाइ हुने जनचेतना आधारभूत विद्यालय छ । तर, विद्यालयमा कुमाल समुदायका बालबालिका पढ्न जाँदैनन् ।

गरीबीका कारण कुमाल समुदायका अधिकांश बालबालिका आधारभूत तहको शिक्षाबाट वञ्चित भएको जनचेतना आधारभूत विद्यालयकी शिक्षिका टिका श्रेष्ठले बताउनु भयो ।

नगण्य मात्रामा कुमाल समुदायका बालबालिकाले आधारभूत शिक्षा पुरा गरेपनि माध्यामिक शिक्षा लिनका लागि भोजपुरबाट अर्काे जिल्ला सङ्खुवासभा जानु पर्ने भएकाले आधारभूत शिक्षा पुरा बालबालिकाले माध्यमिक शिक्षाका लागि चासो नदिने शिक्षिका श्रेष्ठको भनाइ छ ।

माध्यमिक शिक्षाका लागि भोजपुरबाट अरूण नदी तरेर सङ्खुवासभा जानुपर्ने बाध्यता छ । अरूण खोलामा पुल नहुँदा अर्को समस्या छ ।

शिक्षा लिनका लागि जिल्लामै रहेको अरूण माध्यमिक विद्यालयमा पुग्न कुमाल समुदायका बालबालिकालाई तीन घण्टा भन्दा बढी समय हिड्नु पर्ने बाध्यता रहेको शिक्षिका टिका श्रेष्ठको भनाइ छ ।

शिक्षिका श्रेष्ठले भन्नु भयो ‘गरीबि, शिक्षाको अज्ञानता तथा भौगोलिक विकताका कारण कुमाल समुदायका अधिंकाश बालबालिका विद्यालय शिक्षाबाट वञ्चित हुने गरेका छन् ।

‘मथेटारमा कक्षा तीनसम्म मात्र पढाइ हुन्छ, बाँकी शिक्षा लिनका लागि सङ्खुवासभा जानु पर्ने बाध्यता छ । अरूण नदीमा पुल नहुँदा ढुङ्गा तरेर जानु पर्छ । हिउँदको समयमा त जसोतसो ढुङ्गा चल्छ वर्षातको समयमा भने त्यो पनि बन्द हुन्छ । यो नै यहाँको मुख्य समस्या हो । घरमै गएर अभिभावकलाई सम्झाउँदा पनि अभिभावकहरू बालबालिकालाई विद्यालय पठाउन मान्दैनन् शिक्षिका श्रेष्ठले भन्नुभयो ।

कुमाल समुदायका बालबालिका एक त आधारभूत शिक्षा लिन नआउने र आएकाहरू पनि थप शिक्षाका लागि अरूण माध्यमिक विद्यालय पुग्नुपर्ने भएको कारण शिक्षाप्रति चासो नभएको अरूण माध्यमिक विद्यालयका शिक्षक श्रीकृष्ण बोगटी बताउनु भयो । शिक्षक बोगटीले भन्नुभयो ‘कुमाल समुदयका अधिकांश शिक्षाको पहुँच बाहिर छन् ।

विद्यालय शिक्षाको लागि सङ्खुवासभाको तुम्लीङटार जानु पर्छ । अरूण नदीमा पुल छैन । गरिबीका कारण पनि कुमाल समुदायले आधारभूत शिक्षा पुरा गर्न समस्या छ, उच्चशिक्षा शिक्षाका लागि कुमाल समुदायका बालबालिका र अभिभावकको समेत चासो छैन ।’

राज्यले निशुल्क शिक्षाको व्यवस्था गरेको भएपनि यस समुदायमा बालबालिकालाई विद्यालय जान कापी कलम किन्न समस्या छ ।

अभिभावक नै अशिक्षित भएका कारण उनीहरूले आफ्ना छोराछोरीलाईसमेत स्कुल पठाउँदैनन् ।

शिक्षासँगै कुमाल वस्तीमा स्वास्थ्यको पनि उस्तै समस्या छ । आधारभूत स्वास्थ्य सेवा लिनका लागि षडानन्द नगरपालिकामा रहेको गान्धी मेमोरियल अस्पताल पुग्नु पर्ने बाध्यता रहेको कृष्णबहादुर कुमालको भनाइ छ ।

कुमाल वस्तीमा स्वास्थ्य चौकी नहुँदा आधारभूत स्वास्थ्य सेवाका लागि कुमाल गाउँका वासिन्दा अर्को जिल्ला सङ्खुवासभा जानुपर्ने बाध्यता छ ।

कुमाल समुदायका नागरिकको आधारभूत स्वास्थ्य अधिकार सम्बोधनका लागि स्वास्थ्य चौकी निर्माणका लागि पहल भइरहेको षडानन्द नगरपालिका–६ का वडाध्यक्ष सुमन विशुंकेले बताउनु भयो ।

कुमाल समुदयका  कतिपयको त नागरिकता नै छैन । नागरिकता बनाउन वडाले पहल गर्दा पनि हामीलाई नागरिकताको काम नै छैन भन्दै बनाउन नमान्ने वडाध्यक्ष विशुंकेको भनाइ छ ।

अन्य

भिडियो