INSEC Online

📅 २०८३ जेष्ठ २२

कर्मचारीले कुटपिट गरेको पीडितको आरोप

विराटनगर महानगरपालिका–१६ दरैयाबस्तीका ४० वर्षीय अनिल खतिवडाले आफूलाई विराटनगर महानगरपालिका–१६ वडा कार्यालयमा कम्प्युटर अपरेटर पदका कार्यरत ४५ वर्षीय रवि लिङ्देन सुब्बाले पुस १४ गते वडा कार्यालयमा कुटपिट गरेको आरोप लगाउनु भएको छ ।

उपभोक्ता समिति गठनका लागि जग्गाको कर तिर्न कार्यालयमा गएका बेला सुब्बाले कुटपिट गरेको र आँखामा चोट लागेको पीडितको आरोप छ ।

पीडित खतिवडाले उपभोक्ता समितिको गठनको लागि आफ्नो र जिर्सीदेवी मण्डललको नाममा रहेको लालपूर्जामा भएको दुई ओटा कित्तामध्ये पहिले एक कित्ताको राजश्व बुझाउने बताएपछि कर्मचारीसँग विवाद भएको बताउनु भयो ।

कर्मचारी सुब्बाले राजश्व दुई ओटा कित्ताको बुझाएपछि उपभोक्ता समिति गठनको प्रक्रिया अघि बढ्ने बताएपछि आफू राजी भएको पीडितले बताउनु भयो ।

कर्मचारी सुब्बाले राजश्व बुझाउनका लागि विराटनगर महानगरपालिकाको कार्यालय जानु भनेपछि आफूले वडामा तिर्ने राजश्व वडामा नै तिर्छु भनेपछि कर्मचारी सुब्बाले कुटपिट गरेको पीडितको आरोप छ ।

करार सेवामा कार्यरत आफूलाई हातपात गर्ने कर्मचारीविरूद्ध पुस १४ गते इलाका प्रहरी कार्यालय रानीमा लिखित उजुरी दिएको पीडितसँगै गएका सेवाग्राही जितेन्द्र मण्डलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

कुटपिट गर्ने कर्मचारीलाई वडा कार्यालयले कारबाहीको लागि पुस १४ गते नै विराटनगर महानगरपालिकालाई पत्र लेखेर पठाएको विराटनगर महानगरपालिका–१६ का वडाध्यक्ष उद्धव भुजेलले बताउनु भएको छ ।

आरोपित कर्मचारी सुब्बाले आफूले हातपात नगरेको बताउनु भएको छ ।

पीडितको उपचार कोशी अस्पतालमा पुस १४ गते गरिएको छ ।

अन्य

भिडियो