INSEC Online

📅 २०८३ जेष्ठ २१

वर्षाैँदेखि नदीको दुषित पानी पिउँदै कैदीबन्दी !

जुम्ला कारागारमा खानेपानीको अभाव देखिएको छ । पर्याप्त मात्रामा खानेपानीको आपूर्ति नहुँदा कारागारका कैदीबन्दीलाई पिउने, नुहाउने र कपडा धुने पानीको संकट भएको हो ।

दैनिक बिहान–बेलुका गरी दुई घण्टा मात्रै धारामा पानी आउने गर्दछ । धारामा कैदीलाई लाइन लाग्नुपर्ने बाध्यता छ । कारागारमा खानेपानी अभाव भएपछि कैदीबन्दीले गर्ने दैनिक क्रियाकलापमा प्रत्यक्ष असर पुगेको छ । कारागार जुम्लामा यो समस्या अहिलेको होइन, १२ वर्ष देखि हो ।

कैदीबन्दीले पहिले देखि तिला नदिको दुषित पानी खाई रहेका छन् । दुई सय कैदीबन्दीको क्षमता रहेको जुम्ला कारागारमा १ सय १० जना कैदीवन्दी छन् । जसमध्ये १ सय ८ पुरुष र २ महिला छन् ।

लागु ओैषध, ज्यानमार्ने उद्योग, बलात्कार र चोरी लगायतका कैदीवन्दी छन् । कैदीबन्दीको लागि एउटा मात्र धारा छ, त्यो पनि नियमित आउँदैन, नियमित पानी नआउदा सरसफाइका क्रियाकलापमा कमी आउने गरेको जेलर बिष्णुबहादुर महतले बताउनु भयो । उहाँले भन्नु भयो संचालनमा रहेको धारामा नियमित पानी नआएकै कारण समस्या छ । साँझ र बिहान गरी दुई घण्टा मात्रै धारामा पानी आउँछ ।

यहाँ दैनिक १० हजार लिटर पानीको आवश्यकता पर्दछ । दुई घण्टा आउने पानीले समस्या समाधान नहुने भन्दै जेलर महतले नियमित पानी आए मात्रै यो समस्या समाधान हुने बताउनु भयो । उहाँका अनुसार अपुग पानी जेनेरेटर मार्फत तिला नदीबाट तान्ने गर्दछौँ ।  नदीको पानी दुषित भएकोले पिउन योग्य नभएर अहिले कारागारमा पानीको संकट परेको छ । जसोतसो अहिले थुनवा र कैदीलाई आवश्यक पर्ने पानीको बन्दोबस्त गरिएको कारागार जेलर महतले बताउनु भयो ।

 

अन्य

भिडियो