INSEC Online

📅 २०८३ जेष्ठ २२

पारिश्रमिक नपाएको भन्दै कोसी अस्पतालका चिकित्सक र कर्मचारीद्वारा विरोध

समयमा पारिश्रमिक नपाएको भन्दै विराटनगरस्थित कोसी अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीले विरोध जनाएका छन् ।

अस्पताल विकास समितिबाट करारमा नियुक्त भएका १ सय २५ जना कर्मचारीहरूले समयमा पारिश्रमिक नपाएको तत्काल  तलब उपलब्ध गराउन माग गरेका छन् । पीडित चिकित्सक र कर्मचारीले अस्पताल विकास समितिको विरोध गरेका छन् ।

समयमा पारिश्रमिक नपाएको भन्दै पुस ३ गते  बिहान एक घण्टा अस्पताल प्रशासन अगाडि धर्ना दिएका छन् । आन्दोलनका कारण पुस ३ गते बिहान १० बजेदेखि ११ बजेसम्म ओपीडी सेवा बन्द हुन पुग्यो ।

३० जना चिकित्सक, १६ जना स्टाफ नर्स, १० जना हेल्थ असिस्टेन, १७ जना अनमी, ६ जना फार्मेसी सहायक, ६ जना ल्याबटेक्निसियन, ४० जना कार्यालय सहयोगी, दुई जना खरिदार, दुई जना मुखिया, दुई जना चालकसहित १ सय २५ जना कर्मचारीलाई विकास समितिले करारमा नियुक्त गरेको छ । अस्पताल विकास समितिबाट नियुक्ति भएका चिकित्सक र कर्मचारीहरूले कात्तिक र मङ्सिर महिनाको पारिश्रमिक नपाएको आरोप लगाएका छन् ।

दुई महिनादेखि तलब उपलब्ध नगराएको भन्दै चिकित्सक र कर्मचारीले विरोध जनाएपछि अस्पतालको सेवा प्रभावित भएको छ ।

दुई महिनासम्म तलब नपाएपछि बाध्य भएर आन्दोलन गर्नु परेको अस्पतालका फिजिसियन डाक्टर रोशन खड्काले बताउनु भयो । ‘काम गरेको दुई महिना पुरा भइसक्यौं । अहिलेसम्म तलब पाएको छैन । करारमा नियुक्त भएका कर्मचारीले मात्र तलब नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको छ,’ उहाँको भनाइ छ ।

साङ्केतिक रूपमा आन्दोलन सुरू गरेको र तत्काल माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गरिने डाक्टर खड्काको भनाइ छ ।

पुस ४ गते कालोपट्टी बाँधेर बिरामीको उपचार गर्ने र पुस ५ गते पनि तलब दिने वातावरण नभए अस्पताल परिषर बाहिर बसेर बिरामीको उपचार गर्ने चेतावनी चिकित्सकले दिएका छन् । अस्पतालले विगत सात वर्षदेखि स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन भत्ता नदिएको पीडितहरूको आरोप छ । काम गरेको सेवा सुविधा लिन पनि आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको छ,’ डाक्टर खड्काले भन्नु भयो ।

कोसी अस्पताल विकास समितिको बैठक दुई महिनायता बस्न सकिरहेको छैन । बैठक नबसक्दा करारमा नियुक्त भएका कर्मचारीले पारिश्रमिक नपाएका हुन् ।

कोसी अस्पतालमा डाक्टर लक्ष्मीनारायण यादव निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएर आएदेखि विकास समितिको बैठक बस्न सकेको छैन ।

विकास समितिको बैठकले कारारमा नियुक्त भएका चिकित्सक र कर्मचारीको म्याद थप गरेपछि उनीहरुले तलब पाउने व्यवस्था छ ।

नेपालको संविधानले २०७२ ले धारा ३४ मा श्रम सम्बन्धी हकलाई मौलिक हकका रूपमा व्याख्या एवम् व्यवस्था गरेको छ ।

सोही धाराको उपधारा २ मा प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुनेछ भन्ने व्यवस्था छ ।

नेपालको संविधानले २०७२ ले धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकका रूपमा व्याख्या एवम् व्यवस्था गरेको छ ।

सोही धारा उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन् भन्ने व्यवस्था छ ।

अन्य

भिडियो