भजन मानव अधिकार पुरस्कार छैठौबाट बाँकेकी सिद्दीकी पुरस्कृत हुनु भएको छ ।
मानव अधिकार दिवसको अवसर पारेर प्रत्येक दुई वर्षमा प्रदान गरिने भजन मानव अधिकार पुरस्कार मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा योगदान पुर्याउनु भएकी मुस्लिम महिला नेतृ एवं फातिमा फाउण्डेसन नेपालकी अध्यक्ष मैमुना सिद्धिकीलाई मङ्सिर २४ गते अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा प्रदान गरिएको हो ।
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलाशका वरिष्ठतम् न्यायाधीश डा. रत्नबहादुर बागचन्दले सम्मान पत्र, दोसल्ला र पुरस्कार राशी प्रदान गर्नु भएको छ ।
पुरस्कार छनौट सिफारिस समितिले मानव अधिकार र समाजिक न्यायको क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वको छनौट गरी सिफारिस गरेको व्यक्तित्वलाई कार्यकारी समितीले पुरस्कार दिने निर्णय गरेको थियो ।
भजनराम स्मृति अक्षय कोषको मङ्सिर ९ गते बसेको बैठकले बरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठको संयोजकत्वमा समितिका सदस्य निर्मला सुनार र प्रदीप चौधरीलााई पुरस्कार छनौट समितीमा राख्ने निर्णय गरेको थियो ।
साबिकको मध्य पश्चिमाञ्चल र सुदुर पश्चिमाञ्चल क्षेत्रमा मानव अधिकार र समाजिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरू मध्येबाट छनौट गरी कमिटिमा पेश गर्ने गरिएको छ ।
लामो समयसम्म इन्सेक नेपालगञ्जमा कार्यरत भजनराम चौधरी ०६९ जेठ १६ गते प्रात भ्रमणमा रहेको समयमा बसको ठक्करबाट मृत्यु भएको थियो । मृत्यु पछि नेपालगञ्जलगायतका सङ्घ, संस्थामा आवद्ध अधिकारकर्मी तथा सञ्चारकर्मीहरूले संस्थागत र व्यक्तिगत सहयोगमा अक्षय कोष स्थापना गरी प्रत्येक दुई वर्षको फरकमा एक जनालाई पुरस्कृत गर्ने गरिएको संस्थाका अध्यक्ष अधिवक्ता बसन्त गौतमले बताउनु भयो ।
भजन मानव अधिकार पहिलो पुरस्कार ०६९ बर्दिया जिल्लाकी मङ्गलाकुमारी श्रेष्ठलाई प्रदान गरिएको संस्थाका सचिव तथा इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले बताउनु भयो ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरको अवसर पारेर प्रत्येक दुई वर्षमा दिने भजन मानव अधिकार पुरस्कारको राशी २५ हजार रूपियाँ रहेको छ ।
