INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकद्धारा निर्वाचन पूर्व अवस्थाकाबारे सरोकारवालाहरुसँग छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय ,धनगढीको अनुगमन टोलीले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९ को पूर्व अवस्थाका बारेमा जानकारी लिने उद्धेश्यले मङ्सिर १ गते जिल्लास्थित सरोकारवालाहरुसँग भेटघाट गरी छलफल गरेको छ ।

photo20221117kanchanpur (4)

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्मा लगायतको अनुगमन टोलीले निर्वाचनको तयारी, मानव अधिकारको स्थिति, आचारसंहिताको पालनाको अवस्था, शान्ति सुरक्षाको अवस्थाका बारेमा सरोकारवाला निकायसँग भेटघाट गरी छलफल गर्नु भएको थियो ।

अनुगमन टोलीले मुख्य निर्वाचन अधिकृत धु्रव कुमार शाह, प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल ,डिएसपी चक्र शाह, पत्रकार महासंघका अध्यक्ष माधव धामी, नागरिक समाजका सचिव कोमलनिरन्जन भाट र निर्वाचनमा खटिनु भएका मतदान अधिकृतहरुसँग भेटघाट गरी निर्वाचनको पूर्व तयारीका सम्बन्धमा सूचना संकलन गरेको  थियो ।

photo20221117kanchanpur (12)

 

विगतका निर्वाचनको तुलनामा यस पटक आचारसंहिता उल्लङ्घनका घटनामा कमी देखिएको र निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृत धुव्रकुमार शाहले बताउनु भयो ।

उहाँले आचारसंहिता उल्लङ्घन गरिएको भन्दै दुई ओटा उजुरीहरु आएकोमा दुबै जनालाई स्पष्टिकरण सोधिएको र आचारसंहिता विपरीत गरिएका कार्यहरु रोक्न निर्देशन दिइएको बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले विगतका चुनावको तुलनामा आचारसंहिता उल्लङ्घनमा कमी आएको भए पनि पूर्ण रुपमा आचरसंहिता पालना नभएको बताउनु भयो ।

photo20221117kanchanpur (3)

आचारसंहिता विपरीत सार्वजनिक स्थल वा बाटोमा ब्यान, पम्पलेट टाँसेको मौखिक जानकारी प्राप्त भएसँगै सुरक्षाकर्मीहरुलाई परिचालन गरेर हटाउने गरेको समेत प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहल सुरक्षा समिति र निर्वाचन आयोगले वर्गीकरण गरेको मतदानस्थलको संवेदनशीलताको आधारमा सुरक्षा व्यवस्था मिलाइएको र मतदान स्थलमा म्यादी प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र नेपाली सेनालाई खटाइने बताउनु भयो ।

photo20221117kanchanpur (13)

जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका ३ सय ४६ ओटा मतदान केन्द्र मध्ये १ सय ८५ ओटा  मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखेकोले ति मतदान केन्द्रहरुमा सुरक्षा व्यवस्थामा थप कडा पारिएको बताउनु भयो ।

पत्रकार माहासंघका जिल्ला अध्यक्ष माधव धामीले जिल्लामा जघन्य मानव अधिकार उल्लङ्घन तथा आचारसंहिता उल्लङ्घनका घटनाहरु नभएको भएपनि मतदाता शिक्षा प्रभावकारी नभएका कारण अहिले पनि ग्रामीण क्षेत्रका नागरिकहरु मतदान गर्ने विषयमा अलमलमा परेको बताउनु भयो ।

photo20221117kanchanpur (10)

यसैगरी इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले कैलाली जिल्लामा पनि निर्वाचनको पुर्व अवस्थाका बारेमा अनुगमन गरेको छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यलय, धनगढीको नेतृत्वमा राष्ट्रिय मानव अधिकार आयोग र पत्रकार महासंघको संयुक्त टोलीले कात्तिक ३० गते निर्वाचन पुर्व अवस्था बारे अनुगमन गरेको हो  ।

प्रतिनिधि  र प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि विभिन्न निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतहरुसँग छलफल गरी निर्वाचन पूर्व अवस्था बारे जानकारी लिएको इन्सेकका कार्यक्रम अधिकृत राजकुमार चौधरीले बताउनु भयो ।

photo20221116kailali (3)

निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत राजेन्द्र भण्डारीले निर्वाचनको पुर्व तयारीका लागि  कर्मचारी खटनपटन, मतदान स्थलमा खटिने कर्मचारीहरुलाई नियुक्ति–पत्र र निर्वाचन सामाग्री हस्तान्तरण तथा सुरक्षाकर्मी  खटाउने  काम भइरहेको बताउनु भयो ।

निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत लक्ष्मीनारायण ढकालले चुनावी प्रचारप्रसारका क्रममा आचासंहिता उल्लङ्घनका उजुरी नपरेकाले निर्वाचन पूर्वको अवस्था सामान्य रहेको बताउनु भयो ।

photo20221116kailali (1)

अन्य

भिडियो