लेकवेशी नपा–९ चौरासेस्थित तिल्कीपानीकी ७२ वर्षीया डिल्लीसरा जैसीलाई ०७९ कात्तिक २८ गते हत्या गरेको आरोपमा प्रहरीले सोहीठाउँका ३३ वर्षीय शालिकराम बास्तोलालाई कात्तिक २९ गते भेरीगंगा नपाको छिन्चुबाट गिरफ्तार गरेको छ ।
डिल्लीसराको टाउकोमा चोट लागेको र उनलाई मृत अवस्थामा स्थानीयले कात्तिक २९ गते देखेको वडा अध्यक्ष मानबहादुर सोमैले जानकारी दिनु भएको छ ।
वृद्ध महिला खेतमा रहेको कच्ची घरमा बस्दै आएको र उनको शव घरदेखि डेढ किलो मिटर टाढा भेटिएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका डीएसपी सुरज कार्कीले बताउनु भयो । घटनास्थलमा प्रहरी परिचालन भई थप अनुसन्धान भइरहेको डीएसपी कार्कीले जनाकारी दिनु भएको छ ।
शवको कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा पोष्टमार्टम गर्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ । मृतकका परिवारले जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा कात्तिक २९ गते उजुरी दिएका छन ।