घरेलु हिंसा पीडित वीरेन्द्रनगर नपा–१० निवासी २५ वर्षीया पार्वती वयलकोटीलाई कानुनी प्रकृयामा जानका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०७९ कात्तिक २२ गते ५ हजार रुपियाँ सहयोग गरेको छ ।
आर्थिक अवस्था कमजोर भई न्यायिक प्रकृयामा जान नसकेको भन्दै पीडितले कात्तिक ६ गते राष्ट्रिय मानव अधिकार आयोग सुर्खेतमार्फत इन्सेक समक्ष सहयोगका लागि निवेदन दिनु भएको थियो । पीडितको निवेदन सम्बन्धमा मानव अधिकार सहायता कक्षको कात्तिक १५ गते बसेको निर्णय अनुसार पीडितलाई सहयोग गरिएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताउनु भएको छ ।
पीडितलाई न्याय प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी, यात्रा खर्च लगायतका शिर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको प्रदेश संयोजक सुवेदीले जानकारी दिनु भएको छ ।
भारतीय गोर्खा पल्टनमा कार्यरत २५ वर्षीय पति केशर बहादुर नेपालीले घरमा आउँदा पटक पटक कुटपिट गर्ने गरेको पीडित वयलकोटीले गुनासो गर्नु भएको छ ।
पीडित वयलकोटीका पतिले घरमा आउँदा खान बस्न नदिने, माया नगर्ने, घर आमासँग झगडा गर्ने, आर्थिक, तथा मानसिक तनाब दिदै आएको भन्दै झुटो आरोप लगाएर ०७९ भदौ १९ गते सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत सुर्खेतमा मुद्दा दर्ता गर्नु भएको थियो ।
सोही मुद्दाको प्रतिउत्तर लगाउनु पर्ने साथै पीडितले खाना खर्च र घरेलु हिंसा विरुद्धमा न्यायिक प्रक्रियामा जानका लागि आर्थिक सहयोगका लागि इन्सेकसँग अनुरोध गर्नु भएको थियो ।
सन् २०२२ जनवरीदेखि हालसम्म इन्सेकले मानव अधिकार सहायता कक्षमार्फत पीडित वयलकोटीसहित १३ जना पीडितलाई आर्थिक सहयोग गरेको इन्सेकका कार्यक्रम संयोजक किरण पौडेलले जानकारी दिनु भएको छ । आर्थिक अभावका कारण कुनैपनि व्यक्ति न्याय पाउनबाट वञ्चित नहुन भन्ने उदेश्यले इन्सेकले आर्थिक सहयोग गर्दै आएको उहाँको भनाई छ ।
