INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी हिरासतमा यातना दिएको घटनाका आरोपित प्रहरीलाई कारवाहीका लागि सिफारिश

मिर्चैया नगरपालिका-१ की ३३ वर्षीया जिवछी देवी साहलाई इलाका प्रहरी कार्यालय मिर्चैयाको प्रहरी हिरासतमा यातना दिएको घटनाको छानविनका लागि गठित समितिले घटनामा संलग्न प्रहरीहरुलाई विभागीय कारवाही गर्न सिफारिशसहितको प्रतिवेदन प्रमुख जिल्ला अधिकारी लालबाबू कवारीलाई कात्तिक २० गते बुझाएका छन् ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिकिशोर प्रसाद चन्द्रवंशिको संयोजकत्वमा गठित चार सदस्यीय समिति र दुई प्रयवेक्षक सहितको टोलीले इलाका प्रहरी कार्यालयका डिएसपी हरिबहादुर वली, इन्स्पेक्टर सोनु साह, सय उपेन्द्र साह र सहायक हबल्दार कविता अधिकारीलाई विभागीय कारवाहीको लागि सिफरिस गरिएको प्रतिवेदनमा उल्लेख रहेको समितिका प्रयवेक्षक सदस्य ज्ञानु श्रेष्ठले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी लालबाबू कवारीले छानविन समितिले बुझाएको प्रतिवेदनको आधारमा घटनामा संलग्न आरोपितहरुलाई कारवाही गर्न जिल्ला प्रहरी कार्यालय सिरहामा पत्राचार गरेको र कारवाही प्रकृया प्रहरीले अगाडि बढाउने बताउनु भयो ।

पीडित जिवछीकी ६० वर्षीया सासु गुब्दी देवी साहको सव असोज १६ गते कर्जन्हा नगरपालिका–१० स्थित उखुबारीमा भेटिएको सो घटनाको अनुसन्धानको लागि जिवछीलाई प्रहरीले असोज २७ गते गिरफ्तार गरी सोधपुछ गर्ने क्रममा राती प्रहरी हिरासतमै यातना दिएको पीडितले बताएकी थिइन् ।

पीडित रिहा भएर घर गएपछि स्थानीयले प्रहरी हिरासतमा यातना दिएको घटनाबारे जानकारी पाएर असोज ३१ गते प्रहरी कार्यालय घेराउ गरी आन्दोलन गरेका थिए । सोही दिन घटनाको छानविन गर्ने गरी प्रशासकीय अधिकृतको नेतृत्वमा छानविन समिति गठन गरिएको थियो ।

मृतक गुब्दीदेवी साहको हत्या घटनाको आरोपमा उनकै ७० वर्षीय पति मंगल साह र ४० वर्षीय छोरा रामबाबू साहलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले असोज २८ गते गिरफ्तार गरेको छ । शवको पोष्टमार्टम लहान स्थित प्रादेशिक अस्पतालमा असोज १६ गते गरिएको थियो ।

अन्य

भिडियो