INSEC Online

📅 २०८३ जेष्ठ २१

रोल्पामा पाँच ओटा मतदान स्थल थपिए, ३१ ओटा मतदान स्थल अति सम्वेदनशील

आगामी मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पामा स्थानीय तह निर्वाचान भन्दा पाँच ओटा मतदान स्थल थप भएका छन् ।

स्थानीय तह निर्वाचनमा ८१ ओटा रहेकोमा पाँच ओटा थप गरी ८६ ओटा  मतदान स्थल तोकिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले जनसंख्या, भौगोलिक अवस्था, यातायात र सुरक्षाको अवस्था हेरेर पाँच वटा मतदान केन्द्र थप्न सिफारिस गरेको थियो ।

८६ मतदान स्थल रहेको रोल्पा जिल्लामा स्थायी १ सय ७५ र अस्थायी २ सहित १ सय ७७ वटा मतदान केन्द्र कायम गरिएको छ ।

८६ मतदान स्थल मध्ये ३१ मतदान स्थललाई जिल्ला सुरक्षा समितिले अति सम्मवेदनशीलको सूचीमा राखेको छ । अति सम्मवेदनशील मतदान स्थलमा थवाङ गाउँपालिकामा तीन ओटा, रोल्पा नगरपालिकामा दुई ओटा, त्रिवेणी गाउँपालिकामा एक, रुन्टीगढी गाउँपालिकामा ६, परिवर्तन गाउँपालिकामा दुई, गंगादेव गाउँपालिकामा ६, माडी गाउँपालिकामा १, सुनछहरी गाउँपालिकामा पाँच र लुंग्री गाउँपालिकामा पाँच रहेका छन् । यस्तै ४२ ओटा मतदान स्थल सम्वेदनशील र १३ ओटा मतदान स्थल सामान्य रहेका छन् ।

प्रदेश सभा क मा ६८ हजार १ सय ६४ र प्रदेश सभा ख मा ७७ हजार ३ सय ७ गरी रोल्पामा १ लाख ४५ हजार ४ सय ७१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसैगरी, जिल्ला कारागार कार्यालय र जिल्ला समन्वय समितिको प्राङ्गणमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ । ‘अस्थायी मतदान केन्द्रमा कारागारका कैदी, सेना, प्रहरी लगायतका व्यक्तिहरूले समानुपातिक पद्दतीमा मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयका अधिकृत पदमबहादुर डाँगीले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले उम्मेदवारको व्यक्तिगत सुरक्षा, मतदान स्थलको सुरक्षाका साथै भयरिहत वातावरणमा मतदान गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न सुरक्षा निकाय तयारी अवस्थामा रहेको बताउनु भयो ।

निर्वाचन विशेष सुरक्षा योजना ०७९ तयार गरी कार्यान्वयनमा ल्याइएको र  पहिलो घेरामा जनपद प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई राखेर सुरक्षाको जिम्मेवारी दिइएको छ ।

अन्य

भिडियो