बेपत्ता पारिएका आफन्त फर्कने आश अझै मारेका छैनन् बेपत्ता व्यक्तिका आफन्तहरूले शसस्त्र द्वन्द्वको समयमा राज्य पक्ष र तत्कालीन विद्रोही पक्षबाट थुप्रै व्यक्ति बेपत्ता पारिए ।
शसस्त्र द्वन्द्वको समयमा राजापुर नपा– ६ का राजकुमार थारुलाई तत्कालिन शाही नेपाली सेनाको टोलीले कब्जामा लिएर वेपत्ता पारेको २० वर्ष पुरा भयो तर राजकुमार थारुको परिवारले अझै पनि उहाँ फर्कने आश मार्न सकेका छैनन् ।
राजकुमार जस्तै सोही ठाउँका फुलाराम थारु, बगाले थारु, महेश थारु, बसन्तु थारु, छुन्नुवा थारु, रामगोपाल थारु, लौटन थारु, राधेश्याम थारु, रामकरण थारु गरी १० जनालाई पनि एकै दिन २०५९ कात्तिक ३ गते सुरक्षाकर्मीले स्थानीय मानपुर माविबाट वेपत्ता पारेको थियो । ती दशै जना ब्यक्तिका आफन्तहरूले पनि आफ्ना मान्छे फर्कने आशमा पर्खेर बसेका छन् ।
राजकुमारकी पत्नी हिरा थारुले राति सुतिरहेको अवस्थामा सुरक्षाकर्मीले जबरजस्ती उठाएर गाउँ नजिकैको मानपुर माविमा रहेको वेश क्यामपमा राखेको बताउनु भयो । आफूहरूले आफ्नो मान्छे राखेको देखेको र छोडिदिन भनेर अनुरोध गर्दा ‘ तिमीहरूको मान्छै नल्याएको ’ भन्दै उल्टै जे पनि हुन सक्ने भन्दै धम्क्याएको बताउनु भयो । आफनै आखाँले देखेको पतिलाई सुरक्षा बेस क्याम्प उठेसँगै वेपत्ता पारिएपछि अहिेलेसम्म फर्किन्छन् की भन्ने आशामा बाटो कुरेर बसेको पनि हिरा बताउनु हुन्छ ।
पीडित परिवारले बीस वर्ष पछि कात्तिक ३ गते आफ्नै पहलमा आफन्तको स्मरणमा वेपत्ता पारिएको स्थान सोही ठाउँमा रहेको श्री मानपुर उच्च माविमा दिप प्रज्वलन र स्मरण कार्यक्रमको आयोजना गरेका थिए ।
सशस्त्र द्वन्द्वको समयमा द्वन्द्वरत पक्षबाट वलपूर्वक वेपत्ता पारिएका ब्यक्तिको छानविन गर्न बनेको वलपूर्वक वेपत्ता पारिएका ब्यक्तिको छानविन आयोगले तोकिएको समयमा काम सम्पन्न नगरिदिदा पीडित परिवारलाई परिवार चलाउन समस्या भएको र परिवार तथा समाजबाट सामाजिक र सांस्कृतिक लालछना खेप्न परिरहेको पीडा पति बेपत्ता बनाएकी राजापुर नपा– ६ की शिवा थारुले बताउनु भयो ।
वेपत्ता आयोगले कहिले आफ्नो जिम्मेवारीको काम सम्पन्न गर्छ भन्ने बारेमा अन्योल रहेको अवस्थामा पीडित परिवारहरूले आफ्ना मान्छेलाई सम्झने र राज्यको सम्बन्धीत निकायलाई अवस्थाबारेमा सत्य तथ्य तत्काल बाहिर सार्वजनिक गर्न दवाव दिन पीडितहरूले नयाँ तरिकाले अभियान शुरू गरेको द्वन्द्व पीडित समिति बर्दियामा अध्यक्ष भागिराम चौधरीले बताउनु भयो ।