INSEC Online

📅 २०८३ जेष्ठ २१

दुई ओटा सवारी साधनमा आगजनी

अज्ञात समूहले वैशाख ३० गते बिहान तनहुँका छुट्टाछुट्टै स्थानमा दुई ओटा सवारी साधनमा आगजनी गरेको छ ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तह निर्वाचनको विरोध स्वरूप आह्वान गरेको नेपाल बन्दको क्रममा वैशाख ३० गते बिहान पृथ्वी राजमार्गको बन्दीपुर गाउँपालिका-१ स्थित बेलभञ्ज्याङमा डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ३ ख ९११६ नम्बरको ट्रकमा अज्ञात व्यक्तिहरूले आगजनी गरेका हुन् ।

बिहान सवा ५ बजे ट्रक चालक र सहचालकलाई आरोलेर सो समूहले ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट ट्रकमा पुर्णरूपमा क्षति भएको छ । आगजनी भएपछि दमौलीबाट दमकल ल्याएर आगो निभाइएको जिल्ला प्रहरी कार्यालयका एसपी उमेशराज जोशीले जानकारी दिए ।

यसैगरी रिसिङ गाउँपालिका-६ चालिसेमा रोकेर राखेको ना ३ ख ३५२५ नम्बरको बसमा वैशाख ३० गते बिहान १ बजेतिर अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट सो बसमा पूर्णरूपमा क्षति पुगेको छ ।

दुवै घटनामा संलग्नहरूको पहिचान नभएको र खोजी कार्य जारी रहेको एसपी जोशीले बताए ।  यसैगरी दमौली बजारका दुई स्थानमा राखिएका शङ्कास्पद वस्तु नेपाली सेनाले निस्क्रिय पारेको छ ।

पृथ्वी राजमार्गको भोर्लेटार चोक र व्यास नपा-२ मा रहेको जिल्ला सरकारी वकिल कार्यालय परिसरमा राखिएको शङ्कास्पद वस्तु बिहान सेनाले निस्क्रिय पारेको हो । कालो प्लाष्टिकमा बेरेर राखिएका ती वस्तु कुनै विस्फोटक पदार्थ नभएको र आतङ्क फैलाउन राखिएको एसपी जोशीको भनाइ छ ।

यसैबिच नेपाल कम्युनिष्ट पार्टी तनहुँका सचिव गोकुल पराजुलीले सवारी साधनमा भएको आगजनीमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको बताएका छन् । पराजुलीले इन्सेक प्रतिनिधिसँग टेलीफोनमा कुरा गर्दै दुवै आगजनी र शङ्कास्पद वस्तु राखिएको घटनामा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको दावी गरे ।

उनले स्थानीय तह निर्वाचनलाई शान्तिपुर्ण रूपमा असफल पार्ने पार्टीको नीति रहेको भएपनि राज्यको तर्फबाट आफ्नो पार्टीका कार्यकर्ताहरूलाई जबरजस्ती गिरफ्तार गर्ने र झुठा मुद्दा लगाउने कार्य भइरहेको गुनासो गरे ।

.

.

.

.

अन्य

भिडियो