INSEC Online

📅 २०८३ जेष्ठ २१

आत्महत्या दुरूत्साहन घटनाका आरोपित गिरफ्तार

मिक्लाजुङ्ग गाउँपालिका–२ की १६ वर्षीया बालिका सुमित्रा शेर्पालाई आत्महत्या दुरूत्साहन दिएको आरोपमा प्रहरीले झापा, विर्तामोड नगरपालिका– १० का २८ वर्षीय सुमन राईलाई असोज २७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिका र आरोपित युवकबिच सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भएको र पीडित बालिकाले युवकलाई बोलचालका लागि महत्व नदिएको आरोपमा युवकले आत्महत्याका दुरूत्सहान दिएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको नाममा नक्कली फेसबुक आइडी बनाएर आरोपितले चरित्रहत्या गर्न थालेपछि पीडित बालिकाका ४२ वर्षीय बाबु धनकुमार शेर्पाले आरोपितविरूद्ध असोज २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

पीडित पक्षको उजुरीपछि पनि आरोपितले चरित्रहत्या गरेको भन्दै पीडित बालिकाले असोज २७ गते आत्महत्या गरेको थिइन् ।

शवको पोष्टमार्टम असोज २७ गते इलाका स्वास्थ्य चौकी रवि मिक्लाजुङ गाउँपालिका–४ मा गरिएको पीडितका बाबुले बताउनु भयो ।

पीडित पक्षले सोही दिन शव बुझी मिक्लाजुङ्ग गाउँपालिका–२ स्थित जङ्गलमा सद्गत गरेको छ ।

अन्य

भिडियो