INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्णालीमा बाढीपहिरो ः ३५ जनाले ज्यानले गुमाए, २ हजार ९ सय घरपरिवार विस्थापित

कर्णाली प्रदेशका १० जिल्लामध्ये आठ जिल्लामा बाढीपहिरोका कारण ३५ जनाको मृत्यु भएको छ । असोज १९ गतेदेखि आएको बाढीपहिरोले ३५ जनाको ज्यान गएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका अनुसार असोज १९ गतेदेखि असोज २६ गते बिहानसम्म बाढीपहिरोमा परेर कर्णाली प्रदेशभरी ३५ जनाको मृत्यु भएको छ । साथै बाढीपहिरोमा २० जना बेपत्ता र २३ जना घाइते भएका छन् ।

बाढीपहिरोमा परेर सबैभन्दा बढी जुम्ला जिल्लामा १० जनाको मृत्यु भएको छ भने सबै भन्दा कम दैलेखमा एकजनाको मृत्यु भएको छ । यस्तै मुगुमा आठ जना, कालीकोटमा पाँच जना, हुम्लामा चारजना, जाजरकोटमा तीन जना, सल्यान र डोल्पामा दुई÷दुईजनाको मृत्यु भएको छ ।
बाढीपहिरोमा परेर सबैभन्दा बढी कालीकोट जिल्लामा बेपत्ता भएका छन् । कालीकोटमा प्रहरी जवानसहित १८ जना, जुम्ला र दैलेखमा एक÷एक जना बेपत्ता भएका छन् ।

त्यस्तै, बाढीपहिरोमा परेर कालीकोटमा सात जना, हुम्लामा ६ जना, मुगुमा पाँच जना, जुम्लामा तीन जना, जाजरकोट र रुकुमपश्चिममा एक/एक जना घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता एसएसपी माधव श्रेष्ठले जानकारी दिनु भएको छ ।

२ हजार ९ सय घरपरिवार विस्थापित

बाढीपहिरोमा परेर कर्णाली प्रदेशमा १० जिल्लाका ४ सय ८० घरका २ हजार ८ सय ८९ घरपरिवार विस्थापित भएका छन् । जुम्लाका ८६ घरका १ हजार १ सय १३ जना विस्थापित भएको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले बताउनु भएको छ । उहाँका अनुसार विस्थापित घर परिवार स्कुल चौरलगायतको खुला मैदानमा पाल टाँगेर बसेका छन् । उनीहरूलाई तत्काल राहत उद्धारका लागि त्रिपाल, चामल र दालको व्यवस्थापन गरिएको छ ।

यस्तै सुर्खेतका आठ घरका ४५ जना, दैलेखका १ सय ३ घरका ५ सय ११ जना, जाजरकोटका २ घरका १० जना, सल्यानका नौ घर, रुकुमपश्चिमका ३ घरका ११ जना, कालीकोटका ४८ घरका ३ सय ४४ जना, मुगुका १ सय ७८ घरका ७ सय जना, हुम्लाका ४० घरका १ सय ५५ जना र डोल्पाका चार घर विस्थापित भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका एसएसपी श्रेष्ठले जनाएको छ ।

JumlaPhoto20221013 (1) JumlaPhoto20221013 (2)
Photojumla20221013 (2) Photojumla20221013 (1)

अन्य

भिडियो