‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगको प्रकोप प्रदेश १, मा बढ्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेश १, मा डेङ्गी रोगका कारण १ हजार ६४ जना सङ्क्रमित भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार डेङ्गीका कारण सबै भन्दा बढी सुनसरीमा सङ्क्रमित भएका छन् । सुनसरीमा २ सय ९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताउनु भएको छ ।
डेङ्गी सङ्क्रमणलाई नियन्त्रण गर्न प्रदेश सरकारले तीव्र रूपमा काम गरिरेको भए पनि यस वर्षातको समय लामो रहेकाले सङ्क्रमण बढ्दो क्रममा रहेको निर्देशक कार्कीको भनाइ छ ।
डेङ्गी नियन्त्रणका लागि हरेक जिल्लाका स्वास्थ्य प्रमुखहरूसँग त्यहाँको वस्तुस्थिति बुझेर जाँच गर्ने र सङ्क्रमणका विषयमा स्थानीयस्तरमा वकालत गर्ने कार्य गरिरहेको निर्देशक कार्कीले बताउनु भयो ।
स्थानीय तहसँग समन्वय गरेर लामखुट्टे ‘खोज र नष्ट गर’ भन्ने अभियान चलाइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । ‘बेला–बेला पानी परिरहेकाले अहिले पनि केसहरू बढ्दै गइरहेको पाइएको छ, हामीले हाम्रो निकाय अन्तर्गत स्वास्थ्य केन्द्र स्थानीय तहहरूमा समन्वय गरेर त्यहाँ भएका टेस्ट बढाउने कार्य तीब्र गतिमा सञ्चालन गरीरहेको निर्देशक बस्नेतको भनाइ छ ।
गत असोज १६ गतेदेखि २४ गतेसम्मको अवधिमा मात्रै १ सय ३३ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको निर्देशक बस्नेतको भनाइ छ ।
अघिल्ला वर्षहरूमा डेङ्गी रोग प्रायः जसो तराईका जिल्लामा मात्र देखिन्थ्यो भने अहिले हिमाली र पहाडी जिल्लामा पनि फैलिँदो अवस्थामा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
डेङ्गी रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु भएकाले सरकारले सचेतना अभियानलाई अघि बढाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार विषेशगरी बिहान र बेलुकाको समयमा सक्रिय रहने एडिस जातको लामखुट्टेको टोकाइबाट डेङ्गी रोग लाग्ने भएकाले उक्त समयमा बढी सतर्कता अपनाउन आग्रह गरिएको छ ।
देशभर डेङ्गीको जोखिम बढिरहेकाले सतर्कता अपनाउन साथै डेङ्गीबाट बच्न पूरा बाहुला भएका कपडा लगाउन पनि सबैमा आग्रह गरिएको छ ।
