INSEC Online

📅 २०८३ जेष्ठ २१

लुम्बिनी प्रदेशमा मनोनयन दर्ता शान्तिपूर्ण, राजनीतिक दलहरूद्वारा आचार संहिता उल्लङ्घन

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तर्फका उम्मेद्वारहरूको मनोनयन पत्र दर्ता असोज २३ गते शान्तिपूर्ण सम्पन्न भएको छ ।

प्रदेशका विभिन्न जिल्लाहरूमा मनोनयन दर्ताका क्रममा राजनीतिक दलहरूले आचार संहिता उल्लङ्घन गरेको इन्सेकले गरेको अनुगमनमा पाइएको छ ।

मनोनयन दर्ता प्रक्रियाको इन्सेक जिल्ला प्रतिनिधिहरूले गरेको अनुगमन अनुसार केही जिल्लाहरूमा निर्वाचन आयोगले तोकेको भन्दा बढी सङ्ख्यामा कार्यकर्ताहरूलाई जुलुसमा प्रयोग गरेको, बालबालिकाहरूको प्रयोग गरेको, झण्डाहरूको प्रयोग गरेको, नारा जुलुस र बाजा गाजासहित र्‍याली  निकालेको पाइएको छ ।

पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तर्फका उम्मेद्वारहरूको मनोनयन दर्ता शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । पाल्पामा दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा रहेका छन् । क्षेत्र नं. १ अन्र्तगतको एउटा प्रतिनिधि सभा र दुई वटा प्रदेशसभाको मनोनयन पत्र दर्ता निर्वाचन अधिकृतको कार्यालय रामपुरमा भयो भनेक्षेत्र नं. २ अन्र्तगतको एक  प्रतिनिधि सभा र दुई वटा प्रदेश सभाको मनोनयन दर्ता मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनमा भएको छ । मनोनयन दर्ताका क्रममा दलहरुले पालना गर्नुपर्ने आचारसंहिताबारे यसअघि नै राजनीतिक दल सहित सबै सरोकारवालाहरुलाई जानकारी गराइएको र सोही बमोजिम दलहरुले आचारसंहिताको पालना गरेको पाइएको मुख्य निर्वाचन अधिकृत कमलराज बिष्टले बताउनु भयो । पाल्पामा नेपाली कांग्रेस सहित गठबन्धनभित्र रहेका दलहरुले संयुक्त रुपमा मनोनयन दर्ता गरेका छन् भने नेकपा एमालेले भने एक्लै मनोनयन दर्ता गराइएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र रुपमा पनि उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ता गराउन जादा २५ जना भन्दा बढी सहभागी हुन नपाइने, बाजा गाजा र झाँकी प्रदर्शन गर्न नपाइने आचारसंहितामा उल्लेख गरिएको छ ।

रुपन्देही प्रतिनिधि रीमा बिसीका अनुसार जिल्लामा मनोनयन दर्ता शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । मनोनयन दर्ताको र्‍यालीले भैरहवामा बिरामी बोकेको एम्बुलेन्सलाई अवरोध गरेको थियो । सम्वेदनशील साधनको रुपमा रहने र सधै प्राथमिकतामा पर्ने एम्बुलेन्स असोज २३ गते नेपाली कांग्रेससहितको गठबन्धनले निकालेको मनोनयन दर्ताको र्‍यालीले सडक जाम गरेपछि बिरामी बोकेको एम्बुलेन्स रोकिएको हो । गठबन्धनका कार्यकर्ताले पूर्णरुपमा बाटो कब्जा गरेर मनोनयन दर्ता गर्न गएपछि भैरहवा मेडिकल कलेजबाट जादै गरेको रा १ झ १०८ नम्बरको लालमटिया स्वास्थ्य चौकीको एम्बुलेन्स भैरहवाको मैत्री पथमा रोकिएको थियो । गल्लामण्डीमा रहेको नेपाली कांग्रेस क्षेत्र नम्बर ३ को सम्पर्क कार्यालयबाट निस्केको र्‍यालीमा नेपाली कांग्रेससहितको गठबन्धनको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश सभा तर्फ लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोष पाण्डे तथा नेपाली कांग्रेसका रामचन्द्र ढकाल लगायतका समर्थकहरूकाे उपस्थिती रहेको थियो ।

photo2022100901rupandehi

बर्दिया प्रतिनिधि मानबहादुर चौधरीका अनुसार अविरल बर्षाका बाबजुद पनि २ वटा निर्वाचन क्षेत्र रहेको बर्दियामा उम्मेद्वारी दर्ता शान्तिपूर्ण तवरले सम्पन्न भएको छ । अविरल बर्षाका कारण कुनै पनि उम्मेदवारले दलबल र जुलुस बिना उम्मेदवारी दर्ता गराएका थिए ।  मनोनयन दर्ताका क्रममा निर्वा चन आचार संहिता उल्लङ्घन भएको पाइएन । नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताले ढकिया चुनाव चिन्ह बोकेर आएका थिए भने बालबालिका प्रयोग गरेको पाइयो ।

गुल्मी प्रतिनिधि टोपलाल अर्यालका अनुसार उम्मेदवारहरूले शान्तिपूर्ण र हर्सोउल्लासपूर्ण रुपमा मनोनयन दर्ता गराएका छन् । दुई वटा प्रतिनिधि सभा २४ जना र प्रदेश सभातर्फ चार का लागि ४२ जना गरेर ६६ जनाले मनोनयद दर्ता गराएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । मुख्य दलहरू नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्रले जुलस र झण्डा प्रयोगमा निर्वाचन आचार संहिंताको पालना नगरेको पाइयो । उनीहरूले जुलुसमा १० भन्दा बढी झण्डा प्रयोग गरेको  र २५ जनाभन्दा धेरै कार्यकर्ताहरूलाई जुलुसमा सहभागी गराएका थिए । हाम्रो नेपाल पार्टीले मुख्य निर्वाचन अधिकृतको कार्यालयको गेटमा व्यानर टाँसेको अनुगमनमा पाइयो ।

दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार जिल्लामा उम्मेदवारी मनोनयन शान्तिपूर्ण भएपनि दलहरूले निर्वाचन आचार संहिताको उल्लंघन गरेको पाइएको छ । उम्मेदवारी मनोनयनका लागि नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादीलगायत पाँच दलिय गठवन्धन र नेकपा एमालेले चार÷पाँच सयको संख्यामा जुलुस निकाल्ने, मनोनयन कार्यक्रममा जाँदा बालबालिकाहरूलाई नाचगान, कलश बोक्ने काममा लगाउने, बाजा को प्रयोग गरेर निर्वाचन आचार संहिताको उल्लंघन गरेको पाइएको हो । दाङ तीन वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताका क्रममा ठूलो जुलुस र बालबालिकाको प्रयोग गरेको पाइएको हो । दाङका तीनवटै प्रतिनिधि सभा र ६ वटा प्रदेश सभाकालागि तोकिएको समयमै शान्तिपूर्णरुपमा मनोनयन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कृपासुर कार्कीले जानकारी दिनु भयो ।

photo2022100901dang

रोल्पा प्रतिनिधि तिलक घर्ती मगरका अनुसार मनोनयन दर्ता शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । गठबन्धनबाट उम्मेदवारहरुले र्यालीमा २५ जना भन्दा बढी प्रयोग गरेका थिए भने बाजा गाजा सहित र्‍याली निकालेका थिए ।

बाँके प्रतिनिधि लक्ष्मी थारुका अनुसार जिल्लामा शान्तिपूर्ण तरिकाले उम्मेदवारी दर्ता कार्य सम्पन्न भयो । बर्षातका कारण ढिलो गरी २ बजे पछि मात्र उम्मेदवारी दर्ता गराएका थिए । बाँके क्षेत्र नम्बर १ मा माओवादी र कांग्रेस गठबन्धनका उम्मेदवारले र्यालीमा २५ जना भन्दा बढी प्रयोग गरेका थिए । नारा र बाजा गाजा र बालबालिकाको प्रयोग नगरेको पाइयो ।

photo2022100902dang

प्यूठान प्रतिनिधि रबिन्द्र पाण्डेका अनुसार जिल्लामा विभिन्न रानजीतिक दलका  उम्मेदवारहरुले शान्तिपूर्ण तरिका बाट उम्मेदवारी दर्ता सम्पन्न गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।केही दिनदेखि परेको अविरल बर्षाका कारण जिल्लाको मुख्य सडक भालुवाङ्ग प्यूठान सडक अवरुद्ध तथा ग्रमिण सडक पनि अवरुद्ध भएका  कारण ढिलोगरी उम्मेदवारी दर्ता गरेका थिए । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचर संहिता बिपरीत सयौको सख्यामा नेकपा एमाले र गठवन्धन दलहरुले उपस्थिती जनाएका थिए ।

नवलपरासी पश्चिम प्रतिनिधि नारायण पराजुलीका अनुसार आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको लागि जिल्लाका २ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभाका निर्वाचन क्षेत्रका लागि जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता सम्पन्न भएको छ । बिहान १० बजेदेखि मनोनयनका लागि समय सुरु गरिएकोमा दिनैभर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउनेको घुइँचो थियो । जिल्लामा शान्तिपूर्ण र विधिपूर्वक उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश खडानन्द तिवारीले जानकारी दिनुभयो । मनोनयन दर्ता गर्न आउने क्रममा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरुले आचार संहितामा तोकिएको भन्दा धेरै संख्यामा कार्यकर्तालाई साथमा लिई कार्यालय आइपुगेका थिए भने चुनावी नारा र बाजा गाजा सहित पुगेका थिए । मनोनयन दर्ताकालागि क्षेत्र नं १ का लागि  बर्दघाट नगरपालिकाको कार्यालय, क्षेत्र नं २ कालागि रामग्राम नपा– ३, परासी स्थित स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तोकिएको थियो ।

अर्घाखाँची प्रतिनिधि कूलबहादुर नेपालीका अनुसार आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधि सभा सदस्यमा १२ जनाले र प्रदेश सभा सदस्यमा १७ जना गरी २९ जना उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीमा शान्तिपूर्ण तवरले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउन नेकपा एमाले, नेपाली कांग्रेस नेकपा माओवादी केन्द, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले मुख्य निर्वाचन कार्यालयको बाहिरसम्म निर्वाचन आचार संहिता बिपरित नारा जुलुस प्रदर्शन गरेका छन् । जिल्लामा २९ जना उम्मेदवार मध्ये १ जना महिलाले मात्र प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

अन्य

भिडियो