शहिदनगर नगरपालिका–३ यदुकूहाकी २६ वर्षीया बवितिया देवी दासलाई घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय जेठाजु वीरेन्द्र दास, ससुरा नाता पर्ने १९ वर्षीय उमेश दास र शहिदनगरपालिका–७ धमौलीका भाइ १९ वर्षीय शत्रोधन दासलाई भदौ ३१ गते गिरफ्तार गरेको छ ।
हत्याका योजनाकार भनिएका मृतकका जेठाजु र मृतक बवितिया देवी दास बिचको अनैतिक यौन सम्बन्धबारे भाइ तथा गाउँ समाजका मानिसले थाहा पाउने डरले बुहारीको हत्या गरेको प्रहरी समक्ष घटनाका वीरेन्द्र दासले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी बसन्त रजौरेले बताउनु भयो ।
गिरफ्तारीमा परेका दासविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषाले कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी घटनाको थप अनुसन्धान गरिरहेको एसपी रजौरेले बताउनु भयो ।
बवितिया देवी दासको शव यदुकोहास्थित बाँसघारीमा भदौ २८ गते अर्धनग्न अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय यदुकुहाका इन्स्पेक्टर हरिविष्णु ढकालले बताउनु भयो ।
शवको पोष्टमार्टम प्रादेशिक अस्पताल जनकपुरमा भदौ २८ गते गरिएको छ । मृतक महिलाको तीन वर्षीया एक छोरी छन् । पति चार वर्षदेखि वैदेशिक रोजगारीमा देश बाहिर रहेको प्रहरीले जनाएको छ ।