रोल्पा जिल्लाका अधिकांश विद्यालयहरूमा विदार्थीहरू पाठ्य पुस्तक अभावमा नपढेर परीक्षा दिन बाध्य छन् ।
जिल्लामा कक्षा ६ र ७ का विज्ञान र स्वास्थ्य विषयका पुस्तकहरू विद्यार्थीहरू पाएका छैनन् भने अन्य विद्यालयहरूमा पनि फरक फरक विषयका पाठ्य पुस्तकहरू अभावमा विद्यार्थीहरूले पठन पाठन गर्न पाएका छैनन् ।
जिल्लाको उत्तरपूर्वी सुनिलस्मृति गाउँपालिका, लुङ्ग्री गाउँपालिका तथा सुनछहरी गाउँपालिकाहरूका भदौ २३ गतेदेखि प्रथम त्रेमासिक परीक्षा सञ्चालनमा रहेको छ ।
सुनछहरी गाउँपालिका–३ मा रहेको जनता माध्यमिक विद्यालयका विद्यार्थीहरू पाठ्य पुस्तक नहुँदा परीक्षाको समयमासमेत पढ्न पाउने अधिकारबाट बञ्चित हुनुपरेको विद्यार्थीहरूले गुनासो गरेका छन् ।
उक्त विद्यालयमा कक्षा ६ को विज्ञान र कक्षा ८ को स्वास्थ्य विषयको पाठ्पुस्तक नपाएको विद्यार्थी लालमाया घर्तीले बताउनु भयो ।
विद्यालय खुलेको लामो समयसम्म पनि पाठ्यपुस्तक उलब्ध नहुनु दुःखद भएको बताउदै सबैतिर खोज्दासमेत पाठ्यपुस्तक उपलब्ध नभएको र यो समस्या विद्यालयको नभएको जनता माविका प्रधानाध्यापक बागविर घर्तीले बताउनु भयो ।
यसैगरी, सुनिलस्मृति गाउँपालिकाको केन्द्र सुलिचौरमा रहेको सूर्योदय माविमा कक्षा ६ र कक्षा ८ को स्वास्थ्य तथा सामाजिक विषयको पाठ्यपुस्तक हालसम्म पनि उपलब्ध नभएको प्रधानाध्यपक बेगम कवरले बताउनु भयो । कतैबाट पाठ्य पुस्तक उपलब्ध नहुँदा पठनपाठनमा समस्या भएको उहाँले गुनासो गर्नुभयो ।
जिल्ला सदरमुकाम लिवाङस्थित बालकल्याण नमुना मावि, विर बलभद्र नमुना माविमा अंग्रेजी माध्यमबाट कक्षा १० सम्म पठनपाठन हुने गरेको छ भने जिल्लाका अधिकांश विद्यालयका साना कक्षाहरूमा अंगे्रजी माध्यमबाट नै पठनपाठन हुँदै आएको छ । तर पठनपाठन सुरू भएको लामो समयसम्म पनि विद्यालयमा पाठ्य पुस्तक नपुग्दा विद्यार्थीहरू पढ्न पाउने अधिकारबाट बञ्चित भएका छन् । हालसम्म १, २ ३, ४,७ र ९ कक्षाका अंग्रेजी माध्यमका कुनै पनि पाठ्यपुस्तकहरू नहुँदा विद्यार्थीहरूले पढ्न पाएका छैनन् ।
पाठ्य पुस्तक नआएपछि आर्थिक अवस्था सवल हुनेले प्रति पुस्तक ६ सय रूपियाँ तिरेर निजि कम्पनीका पुस्तकहरू खरिद गरेका छन् भने मोवाइल हुने जतिले मोवाइलबाट फोटो लिएर पढ्ने गरेको वीर बलभद्र नमुना माविमा कक्षा नौ मा अध्यनरत छात्रा मन्जु पुन मगरले बताउनु भयो । विद्यालयमै पाठ्यपुस्तक नआएपछि शिक्षकहरूले दिएको नोटको भरमा पठन पाठन भइरहेको विद्यार्थी मिलन विश्वकर्माले बताउनु भयो ।
बालकल्याण नमुना माविका प्रधानध्यापक मधुसुधन पोख्रेलले कतिपय पुराना पुस्तकले काम चलिरहेको बताउदै कक्षा एक देखि तीन सम्म अंग्रेजी भाषा विषयको पुस्तक भए पनि कक्षा चार, सात र नौका नयाँ पुस्तकहरू नआएको बताउनु भयो ।
स्थानीय तह निर्वाचनको तपत्र समयमै छाप्न सक्ने जनक शिशा समग्री केन्द्रले पाठ्य पुस्तक समयमै छाप्न नसक्नु दुखद भएको वीर बलभद्र माविका सहायक प्रधानाध्यापक उदय घर्ती मगरले बताउनु भयो ।
अंग्रेजी माध्यमको मात्र नभइ जिल्लाका अधिकांश विद्यालयमा नेपाली माध्यमको पुस्तक समेत आइपुगेको छैन् । नेपाली माध्यम अन्तर्गत कक्षा ६ को विज्ञान, अंग्रेजी र नेपाली कक्षा ८ को अंग्रेजी, स्वास्थ्य, सामाजिक र पेशा, कक्षा ९ को एच्छिाक कम्प्युटर, कक्षा १० को कम्प्युटर र भुगोल विषयको पाठ्य पुस्तक अझै नआएको पुर्णीमा स्टेशनरीका सञ्चालक तथा समाजसेवी घनश्याम आचार्यले बताउनु भयो ।
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रोल्पाका अध्यक्ष सालिग्रा सुवेदीका अनुसार यस वर्ष कक्षा १ देखि ७ र कक्षा ९ को अंग्रेजी भाषा विषयको पाठ्पुस्तक र नेपाली भाषा विषय अन्तर्गत कक्षा ६ को विज्ञान, कक्षा ८ को स्वास्थ्य शारीरिक विषय नेपाल सरकारले नै हालसम्म नछापेको बताउनु भयो ।