१४ वर्षीया बालिकालाई ०७६ वैशाख १५ गते बलात्कार गरेको कसुरमा जिल्ला अदालत धनुषाले क्षिरेश्वनाथ नपा–५ का ३६ वर्षीय राजकुमार साहलाई भदौ २७ गते १२ वर्ष कैद सजायको फैसला गरेको छ । साथै पीडित बालिकालाई राज्यको राहत कोषबाट ५ लाख रुपियाँ क्षतिपूर्ति दिने फैसला गरेको हो ।
३१ औँ पेशीको क्रममा घटनाको अन्तिम फैसला आएको हो । अदालतले ०७९ भदौ २० गते बलात्कार गरेको कसुर ठहर गर्दै सजाय निर्धारणको लागि पेश गरेकोमा भदौ २७ गते अन्तिम फैसला आएको हो ।
बालिकालाई बलात्कार गरेको भन्दै पीडित परिवारले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ०७६ वैशाख १५ गते उजुरी दिएका थिए ।
प्रादेशिक अस्पताल जनकपुरमा वैशाख १५ गते पीडितको उपचार सम्भव नभएपछि थप उपचारका लागि ललितपुरस्थित पाटन अस्पतालमा तीन महिनासम्म उपचार गरिएको थियो ।
घटनामा संलग्न रहेको आरोपमा साहलाई अनुसन्धानका लागि प्रहरीले वैशाख १६ गते गिरफ्तार गरेको थियो ।
गिरफ्तारीमा परेका साहलाई जिल्ला अदालतको ०७६ जेठ २ गतेको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।
घटनापछि पीडित परिवार विस्थापित भई काठमाडौँमै डेरा गरी बस्दै आएका छन् ।