अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा भदौ २७ गते त्रिभुवन माध्यमिक विद्यालयमा ‘किशोरीहरूका लागि आत्मरक्षा अनुशिक्षण’ कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक केशव रेग्मीले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ ।
विद्यालयका शिक्षक गणेश रेग्मीले नातेदार र आफन्तजनबाट समेत असुरक्षित हुनुपरेको कैयौँ घटनाहरूले हरेक किशोरीलाई आत्मरक्षाको ज्ञान हुनुपर्ने आवश्यकता दर्शाउनु भयो ।
उहाँले ‘किशोरीहरूका लागि आत्मरक्षा अनुशिक्षण’लाई ग्रामीण क्षेत्रमा लिई व्यापक बनाइनुपर्ने बताउनु भयो ।
प्रमुख सहजकर्ता सुनिता सुनारले किशोरीहरूको उत्सुकतापूर्ण सहभागिताले अभियान निरन्तरता दिलाउन उत्साहित भएको बताउनु भयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कर्णाली प्रदेशमा सञ्चालन गरेको ‘अधिकार–२’ परियोजनाबाट प्रशिक्षक प्रशिक्षण प्राप्त आत्मरक्षा सहकर्ता सुनिता सुनारले तयार पार्नुभएका स्वयम्सेवकहरू प्रतिमा थापामगर, कृष्णा थापा, मनिषा कार्की, रोशनी थापामगर समेतको टोलीले जिल्लाका विभिन्न स्थानमा यौनजन्य दुर्व्यवहार र बलात्कार प्रयास भएको अवस्थामा जोगिने सीपको अभ्यास प्रस्तुती गर्दै आएको छ ।
यौनजन्य दुर्व्यवहार र बलात्कारबाट जोगिन अपनाउनुपर्ने सावधानी, मौखिक प्रतिवाद, कुटनीतिक सम्वाद शैली र कानुनी उपचार गरी चार क्षेत्रको उपयोगिता विषयमा चर्चापछि बदनियतले गरिने शारीरिक स्पर्शदेखि बलात्कार प्रयासको बेला जागिने ११ ओटा सीप विषयमा प्रयोगात्मक अभ्यास देखाउने गरिएको छ ।

