खार्पुनाथ गाउँपालिका–५ स्थित हिल्सा नौधारा आधारभूत विद्यालयमा अध्यायनरत विद्यार्थीहरूमा मौसमी रुघाखोकी देखिन थालेपछि विद्यालय बन्द गरिएको छ ।
भदौ १९ गतेदेखि खार्पुनाथ गाउँपालिकास्थित हिल्सा नौधार आधारभूत विद्यालयमा अध्यायनरत विद्यार्थीहरूमा मौसमी रुघाखोकी देखिन थालेपछि विद्यालय व्यवस्थापन समितिको भदौ २१ गतेको निर्णय अनुसार रोग नियन्त्रण नहुञ्जेलसम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक पर्णबहादुर रोकायाले बताउनु भयो ।
भदौ १९ गतेअघि सामान्य रुपमा विद्यार्थीको सहभागिता भएर विद्यालयमा पठनपाठन भएपनि हाल २० जना मात्रै उपस्थित भएपछि विद्यालय नै बन्द गर्नु पर्ने बाध्यता रहेको प्रअ रोकयाको भनाइ छ ।
उहाँका अनुसार कक्षा १ देखि कक्षा ७ सम्म सञ्चालन हुँदै आएको उक्त विद्यालयमा ६८ जना विद्यार्थी अध्यायनरत छन् ।
विद्यालयका ६८ जना विद्यार्थीमध्ये ४० जनामा ज्वरो आउने, पेट दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने र झाडा पखाला हुनेजस्ता लक्षण देखा पर्न थालेपछि केही दिन घरमै आराम गर्नु पर्ने र आवश्यकता भएमा स्वास्थ्य संस्थामासमेत जानु पर्ने भएपछि विद्यालय बन्द गर्नु परेको प्रअ रोकायले बताउनु भयो ।
विद्यालय बन्द गरेर उपचारको उपाय खोज्दै आएका ४० जना विद्यार्थीहरू खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखामा आएर उपचार गरिरहेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक बलिराज शाहीले बताउनु भयो ।