विद्यार्थीलाई कुटपिट गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा ०७९ भदौ २५ गते उजुरी दर्ता भएको छ ।
कमलामाई नगरपालिका–४ दोभानटारमा रहेको विद्याश्रम अङ्ग्रेजी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय छोरालाई कुटपिट गरी घाइते बनाएको आरोपमा पीडितकी आमा निर्मला लामाले सोही विद्यालयका शिक्षक असोक लामिछानेलेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा कारबाहीको माग गर्दे उजुरी दिनु भएको हो ।
शिक्षक लामिछानेले बालकलाई भदौ २४ गते कुटपिट गरेका थिए । विहान विद्यालय गएको छोरो विद्यालय छुट्टी भएर घर आउँदा उठ्न बस्न असहज भएर रोएपछि छोरालाई सोध्दा शिक्षकले कुटपिट गरेको बताएको बालककी आमाले बताउनुभयो ।
शिक्षक लामिछानेले क्लास टेष्टमा नम्बर कम ल्याएको भन्दै बाँसको भाटाले कुट्ता बालकको दुवै तिघ्राको पछाडिपट्टि घाउ र निलडाम रहेको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिकृष्ण केसीले प्रहरी कार्यालयमा उजुरी आएकोले अनुसन्धान प्रकृया अघि बढाइएको बताउनु भयो ।
पीडित बालकलाई भदौ २५ गते सिन्धुली अस्पतालमा गरी सोही दिन साँझ घर लगिएको छ ।