देशमा शान्ति स्थापना भएको लामो समय बितिसक्दा पनि न्याय नपाएको द्वन्द्व पीडितहरूले गुनासो गरेका छन् । शान्ति स्थापनाका क्रममा बेपत्ता पारिएका व्यक्तिका विषयमा अहिलेसम्म पनि सरकार बेखबर जस्तो बनेको पीडितहरूको गुनासो छ ।
सुर्खेतको गुर्भाकोट नपा–१३ की कौशिला दमाईलाई पति फर्किने आशा मरेको छैन । २०५९ सालमा बहिनीको घर कैलालीमा गएको बेलामा राज्यपक्षले उनलाई बेपत्ता बनाएको थियो । तर २० वर्ष पुग्दा समेत उनका पतिको कुनै सत्यतथ्य जानकारी कतैबाट नआएको उहाँको गुनासो छ ।
जिवित भए जिवित भएको सूचना पाउनु पर्ने यदि मरेकै होे भने कसले मारेको हो, कहाँ मारेको हो ? प्रमाणसहित पीडितलाई जानकारी गराउनुपर्ने द्वन्द्व पीडित दैलेख गुँरास गाउँपालिका–८ निवासी लालबहादुर गैरेले जोड दिनुभयो । आफ्नी छोरी डम्बर कुमारी गैरे (सुमित्रा) सरकार पक्षबाट बेपत्ता भएको लालबहादुरले जानकारी दिनु भएको छ ।
घरमा जाँदा आमाले भाईलाई ल्याइनस भन्दा प्रतिउत्तर दिन नसक्ने भन्दै गहभरि आसु झादै भद्रबहादुर विष्टले कार्यक्रममा दुखेसो पोख्नु भयो । राज्यपक्षबाट ०५८ सालमा भाईलाई बेपत्ता बनाएको घटना सुनाउदै विष्टले बेपत्ता परिवारका समस्या ज्यू का त्यू रहेको आरोप लगाउनु भएको छ ।
बलपूर्वक बेपत्ता पारिनबाट संरक्षणका लागि अन्तर्राष्ट्रिय बेपत्ता दिवस ३० अगष्टको पूर्वसन्ध्यामा भएको अन्तरक्रिया कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा सरोकारवाला निकायबीच भएको छलफलमा पीडितले यस्तो गुनासो गरेका हुन् ।
जिल्ला समवन्य समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले सरकारले बेपत्ता परिवारका सम्बन्धमा तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिनु भयो । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले द्वन्द्व पीडितका सवालमा समस्या समाधानमा पहल गर्ने प्रतिवद्वता जनाउनु भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सँग देशभर सशस्त्र द्वन्द्वका समयमा राज्य र विद्रोही पक्षबाट ९ सय ३१ जनालाई बेपत्ता पारिएको तथ्याङ्क रहेको छ ।
यस्तै कर्णालीमा ९९ जना र सुर्खेतमा १४ जना बेपत्ता पारिएको तथ्याङ्क इन्सेकसँग रहेको इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो ।
उहाँले नेपालमा जबसम्म दण्डहीनताको अन्त्य हुँदैन तबसम्म यस्ता खालका घटना नरोकिने तर्क समेत गर्नुभयो ।
बलपूर्वक बेपता पारिएका नागरिकहरूको अन्तर्राष्ट्रिय दिवस इन्सेक, एड्भोकेसी फोरम, नेपाल रेडक्रस सोसाइटी, द्वन्द्व पीडित साझा चौतारी, द स्टोरी किचेन र मानव अधिकारका लागि महिला एकल महिला समूह सुर्खेतको संयुक्त आयोजनामा गरिएको हो ।
छलफल कार्यक्रममा बेपत्ता परिवार, द्वन्द्व पीडित र सरोकारवाला समेत करिब ६० जनाको उपस्थिति रहेको थियो । द्वन्द्व पीडित तथा बेपत्ता पारिएका व्यक्तिको सम्झनामा भदौ १४ गते साँझ ६ बजे विभिन्न संघ संस्थाद्धारा वीरेन्द्रनगरको वीरेन्द्र चोकमा दिप प्रज्वलन कार्याक्रमको आयोजना गरिने इन्सेकका कर्णाली प्रदेश संयोजक सुवेदीले जानकारी दिनु भएको छ ।
