INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रजिअले सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोप

नागरिकतामा भएको अपमानित नाम सच्याउने कामले साउन ३० गते जिल्ला प्रशासन कार्यालय दैलेख पुगेका सेवाग्राहीलाई प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले दुर्व्यवहार गरेको ती सेवाग्राहीले आरोप लगाएका छन् ।

भगवतीमाई गाउँपालिका–५ कट्टीका ४४ वर्षीय कर्णबहादुर बिकले २०५६ चैत २० गते लिएको नागरिकतामा लेखिएको ठगे कामी उल्लेख भएको अवस्थामा अपमानित नाम परिवर्तन गर्न पाउने गृह मन्त्रालयको परिपत्र अनुसार परिवर्तन गराउन गएको बेला त्यस्तो दुर्व्यवहार भोगेको बताउनु भयो ।

वडा कार्यालयको सिफारिस र अनुसूची समेत प्रमाणित गरी पुगेको बेला ठगे कामी लेखिएको व्यक्तिलाई ‘ठ’बाट आउने कुनै नाम दिन सकिन्छ तर कर्णबहादुर बिक दिन नमिल्ने भन्दै प्रमुख जिल्ला अधिकारी प्याकुरेलले अनुसूची फारम केरमेट गरिदिएको बताइएको छ ।

यस विषयमा प्रतिनिधि सभाको बैठकमा समेत साँसद पार्वती बिशुन्के र लक्ष्मी परियारले अपमानित नाम सच्याउन गएका सेवाग्राहीलाई दुव्र्यवहार गर्ने प्रमुख जिल्ला अधिकारी प्याकुरेललाई कारवाही गर्न माग गर्नुभएको छ ।

यस बारे प्रमुख जिल्ला अधिकारी प्याकुरेलले ‘ठ’बाट आउने कुनै नाम ठमेन्द्र वा यस्तै केही राख्दा हुन्छ भनेर वडाबाट आएको फाराम केरेको प्रतिक्रिया दिनुभयो । जातीय विभेदको उद्देश्यले आफूले त्यस्तो नगरेको उहाँको भनाई छ ।

‘गृह मन्त्रालयको परिपत्रको आशय प्रमुख जिल्ला अधिकारीको काम सिफारिस अनुसार गर्ने हो, व्यक्तिलाई नयाँ नाम राख्दै हिड्न होइन’ मानव अधिकार रक्षक सञ्जालका संयोजक बिशाल सुनारले टिप्पणी गर्नुभयो ।

1660554461564

अन्य

भिडियो