अबिरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्दै जाँदा उदयपुरको बेलका नगरपालिका–८ डुम्रीबोट पश्चिमबाट कोशीको भङ्गालो गाउँतर्फ पसेपछि नौ हजार घरधुरी डुबानको उच्च जोखिममा परेका छन् ।
बाढीमा फसेकाहरूलाई स्थानीय सरकारले रब्बरको वोट र गाडीबाट सुरक्षित स्थानतर्फ सारिरहेको छ ।
कोशी नदी पश्चिमतर्फको डिल कटान गर्दै गाउँपसेपछि बेलका नगरपालिकाका पाँच ओटा वडाहरू डुवानको जोखिममा परेको बेलका नगरपालिकाकी उपप्रमुख जीरा राईले बताउनु भयो ।
सप्तकोशी मुल प्रवाह नै बाँधमा ठोक्किएर साउन १७ गते दिनभर बाँध कटान गरेको थियो । साउन १८ गते ४ बजेबाट नदी बाढी गाउँमा पसेको उपप्रमुख राईले बताउनु भयो । कोशीको भङ्गालो गाउँपसेपछि गाउँ जलमग्न भएको छ ।
जसका कारण बेलका नगरपालिका–८ को सिसौली, वडा–९ को धौरी, वडा–३ को भोटेपुल, दुर्गा मन्दिर, एवीसी टप्पु, जगना, गुणीटोल र वडा–२ को लालभित्ती, बानडाँडा, चन्द्रपुर र वडा–१ को पुरन्दह, करैया, बेलहा डुबानमा पर्ने जोखिम बढेको छ ।
कोशी फुटेपछि बेलकाका स्थानीयले घर छाड्न थालेका छन् । कोशीमा पानीको सतह नघटे बेलकाको वडा–८ डुम्रीबोटस्थित कोशीको बाँध भत्किने डरले स्थानीयले साउन १७ गते अन्नपात सुरक्षित ठाउँमा सारेका छन् ।
नेपाल प्रहरीले कटानक्षेत्र नजिक टेन्ट लगाएर रातभर निगरानी गरेको छ । जोखिम क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको स्थानीय प्रेम दाहालले जानकारी दिनु भयो ।
वेलका नगरपालिका–५ र आसपासका क्षेत्रमा बाढीमा फसेकाहरूलाई उद्दारका लागि पहल थालिएको छ ।
वृद्धवृद्धा, गर्भवती, महिला तथा बालबालिकाहरूलाई सुरक्षित स्थानमा सार्न सुरू गरिएको छ । तटीय क्षेत्रका सबैलाई माइकिङ्ग गरेर सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।
वि.स.२०४५ सालमा अहिले कोशी फुटेकै ठाउँबाट नदी बग्ने गरेको थियो । पछि कोशी नदी पूर्वतर्फ धकेलिएका कारण पश्चिमी क्षेत्रमा बालुवा गिटी थुप्रिएर केही अग्लो डिल बनेको थियो ।
कोशी नदीमा पानीको बहाव उच्च भएपनि कोशी ब्यारेजको सुरक्षार्थ खटिएको भारतीय प्रतिनिधि मण्डलले सबै ढोका नखोल्दा सुनसरीको कोशी गाउँपालिका र बराहक्षेत्र नगरपालिकाको खेती योग्य जमिन र मानव बस्ती डुबानमा परेको छ ।
भारतले कोसी ब्यारेजका सबै ढोका नखोल्दा बाढीले कटान गर्न थालेको छ ।
सुनसरी र उदयपुरको सिमानामा रहेको सप्तकोसी नदीले चतरा पुलमुनिको ३ किलोमिटरको दुरीमा रहेको डुम्रीबोटेबाट तटबन्ध भत्काएर पश्चितमतर्फ कटान सुरू गरेपछि बेलका नगरपालिकाका स्थानीय डुवानको उच्च जोखिममा परेका छन् ।
कोशी नदीको भङ्गालो पश्चिम तटबन्दतर्फ फर्किएपछि बराहक्षेत्र र बेलका नगरपालिकाका स्थानीय त्रसिता भएका छन् ।
कोशी ब्यारेजका सबै ढोका नखोलेकाले डुम्रीबोटेबाट नदीमा आएको बाढी श्रीलङ्का टापुतर्फ प्रवेश गरेको इन्सेक उदयपुर पूर्व प्रतिनिधि सुजता ढुङ्गानाले बताउनु भयो ।
बाढीले कटान तीब्र पारेपछि सप्तकोशीको बीच भागमा पर्ने श्रीलङ्का टापुका २ हजार घर परिवार त्रासमा बस्न बाध्य भएको ढुङ्गानाको भनाइ छ ।
साउन १८ गते सप्तकोशीमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार १२५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ३२ ढोका खोलिएको प्रमुख जिल्ला अधिकारी यादवको भनाइ छ ।










