चन्दननाथ नगरपालिका–५ अर्थात यहाँको मुख्य सदरमुकाम खलङ्गास्थित चन्दननाथ मन्दिरमा गुरुकुल पाठशालाका विद्यार्थीले पाँच ओटा कक्षाका एउटै कोठामा बस्नु परेको गुनासो गरेका छन् ।
गुरुकुल पाठशालामा कक्षा ३ मा अध्ययनरत छात्रा नविना अधिकारीले कक्षा कोठा अभाव भएको बताउनु भयो ।
उहाँले भन्नु भयो–‘पाँच ओटा कक्षाका विद्यार्थी एउटै कोठामा बस्ने गरेका छौँ । विद्यालय जाँदा सधैँ कहाँ बस्ने भन्ने चिन्ता हुन्छ ।’
एउटै कोठामा कोचिएर पाँच ओटा कक्षाका विद्यार्थी बस्नुपर्छ ।’–उहाँले भन्नु भयो–‘शिक्षक पनि एउटै हुनुहुन्छ । सबै विषय उहाँबाटै पढ्दा बुझ्न पनि समस्या भएको छ ।’
पाठशालामा नेपाली र संस्कृत दुई ओटै भाषाबाट पढाइ हुन्छ । सरकारले एक जनाबाहेक अन्य शिक्षकको व्यवस्थापन नगर्दा गुरुकुलमा अध्ययनरत १ देखि ५ कक्षासम्मका ३० विद्यार्थी समस्यामा परेका छन् ।
चन्दननाथ मन्दिरको एक कोठामा गुरुकुल शिक्षा पठनपाठन भइरहेको छ । २०६८ सालमा प्राथमिक तहको स्वीकृति पाएको पाठशालाले विद्यालय भवन निर्माणदेखि शिक्षक नियुक्त गर्न नसक्दा विद्यार्थीले यस्तो समस्या भोग्नु परेको अभिभावक रमानन्द आचार्यले बताउनु भयो ।
चन्दननाथ नगरपालिकाले हरेक वर्ष पाठशालालाई व्यवस्थापन खर्चबापत २ लाख ४१ हजार रुपियाँ बजेट विनियोजन गर्ने गरेको छ ।
‘सानो बजेट कहाँकहाँ पुर्याउनु ?’–प्रधानाध्यापक विश्वराज उपाध्यायले भन्नु भयो–‘पाठशाला दक्ष पुरोहित जन्माउन खोलिएको हो । तर, भौतिक संरचना र शिक्षक अभावले आफैँमा अस्तव्यस्त छ ।’
पाठशाला खोलिएपछि संस्कृत भाषा पढ्न विद्यार्थी त इच्छुक देखिन्छन् । तर, विद्यालयको वातावरण निकै अस्तव्यस्त बनेको उहाँले बताउनु भयो ।
‘न खेलमैदान छ, न त पठनपाठनको राम्रो वातावरण नै ।’–उहाँले भन्नु भयोे–‘प्रशासनिक कामकाज र कक्षा सञ्चालन एउटै कोठाबाट गरिरहेको छु । शौचालय र खानेपानीको सुविधा भए पनि विद्यार्थीका लागि उचित फर्निचरको प्रवन्ध छैन ।’
अहिले विद्यार्थीहरू कार्पेटमा बसेर पठनपाठन गरिरहेका छन् । कक्षा १ देखि ५ सम्म १४ छात्रा र १६ छात्र छन् ।
पछिल्लो समय छात्रभन्दा छात्राले ध्यानपूर्वक संस्कृत विषय पढ्न थालेको उहाँले बताउनु भयो ।
‘पूर्वाधार अभावमा पठनपाठनमा निकै समस्या छ । सरकारले कक्षा ५ सम्म सञ्चालन गर्ने अनुमति त दियो । तर कक्षाकोठा र शिक्षक दरबन्दी दिन सकेन ।’–उहाँले भन्नु भयोे ।
पाठशालामा पाँच जना दलित विद्यार्थी भर्ना
पाठशालामा दलित र गैरदलितका विद्यार्थी पनि पढ्न पाउँछन् । जातीय आधारमा कसैलाई विभेद नगरिएको पाठशालाले जनाएको छ ।
पाठशालामा दलितका पाँच बालबालिका भर्ना भएका छन् । बेलुकी ४ देखि ६ बजेसम्म २ घण्टासम्म पाठशाला सञ्चालन हुन्छ । यही पाठशालामा पढेका रमेश न्यौपाने चन्दननाथ मन्दिरका मुख्य पुजारी छन् ।
चन्दननाथ नगरपालिका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईँका अनुसार चन्दननाथ नगरपालिकाले बार्षिक बजेट एकमुष्ट २ लाख ४१ हजार रुपियाँ अनुदान दिने गरेको छ ।
गुरुकुल पाठशालामा भौतिक संरचना र शिक्षकको अभाव देखिन्छ उहाँले भन्नु भयो–‘अहिले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको प्रस्तावना आह्वान भएको छ । गुरुकुल पाठशालाले त्यहाँ प्रस्तावना पठाएको खण्डमा छनोट हुने सम्भावना रहन्छ ।’