INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता

जिल्लामा क्रियाशील राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला बालकल्याण समितिले वैशाख २१ गते जिल्लामा क्रियाशिल दलहरूबाट बालबालिका प्रयोग नगर्ने लिखित प्रतिबद्धता गराएको जनाएको छ ।

निर्वाचन आयोगद्वारा जारी स्थानीय तह निर्वाचन आचार संहितामा उल्लेखित निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने प्रावधान अनुसार सबै दलले बालबालिकालाई प्रयोग नगर्ने लिखित प्रतिबद्धता जनाएको बालकल्याण समितिका सूचना व्यवस्थापन अधिकृत जीवन पुडासैनीले बताए ।

नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नयाँशक्ति पार्टी, एकिकृत राप्रपा (राष्ट्रवादी), नेकपा माले, परिवार दल, नेपाल मजदुर किसान पार्टी लगायतले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाली काङ्ग्रेस, विदुर नगर सभापति नेत्रप्रसाद ढकालले निर्वाचनको चुनावी सभा, विजय जुलुसमा प्रयोग नगर्ने र सबै कार्यकर्ताहरूसम्म आचार संहिताको जानकारी गराउने बताए ।

नेकपा एमाले जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा, माओवादी केन्द्रका अध्यक्ष हिरानाथ खतिवडा, राप्रपाका अध्यक्ष विष्णुप्रसाद सापकोटा, एकिकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष झनकबहादुर प्याकुरेलले बालबालिकालाई कार्यकर्ता बनाएर हिँडाउन नहुने भनी उल्लेख गरिएको आचार संहितामा आफूहरू सचेत रहेको र सजग रहेको बताएका छन् ।

अन्य

भिडियो