INSEC Online

📅 २०८३ जेष्ठ २१

करेन्ट लगाएर हत्या प्रयास घटनाका पीडितलाई उपचारका लागि आर्थिक सहयोग

करेन्ट लगाएर हत्या प्रयास गरिएको घटनामा पीडित सिन्धुली जिल्ला गोलञ्जोर गाउँपालिका–२ घर भई जनकपुरधाम उपमहानगरपालिका–९ रजौलमा बस्दै आउनु भएकी २२ वर्षीया राधिका कार्कीको उपचारका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा स्थापित मानव अधिकार सहायता कक्षबाट साउन ६ गते १० हजार रुपियाँ आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

इन्सेक लगायतका सङ्घसंस्थाहरुले असार ६ गते घटनाको अनुगमन गर्ने क्रममा स्वास्थ्य उपचार गर्न आर्थिक समस्या भएको भन्दै कार्की र उहाँकी आमाले दिनुभएको निवेदनको सम्बोधन गर्दै तत्काल मानव अधिकारकर्मीहरुको टोलीले पीडितलाई अस्पतालबाट निःशुल्क उपचार उपलब्ध गराउन अस्पताल प्रशासनसँग माग गरेका थिए ।

अधिकारकर्मीहरुको मागलाई सम्बोधन गर्दै अस्पालले उपचार खर्च व्यहोर्दै आएकोमा उहाँको थप उपचारका लागि साउन ६ गते काठमाडौँको किर्तिपुरस्थित बर्निङ अस्पतालमा रेफर गरिएको छ ।

उक्त अर्थिक सहयोगबाट पीडितलाई काठमाडौँ लैजानका निम्ति ऐम्बुलेन्स र बाटोमा खर्च गरिने पीडित पक्षले जनाएको छ ।

प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत कार्कीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै आएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् ।

मानव अधिकार रक्षक सञ्जालका प्रदेश संयोजक समेत रहनु भएका इन्सेक मधेश प्रदेश संयोजक राजु पासवान, राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका मानव अधिकार अधिकृत मनमाया राणा मगर, महिला मानव अधिकार रक्षक संजाल धनुषा अध्यक्ष तथा अधिवत्ता रेखा झा, ओरेक नेपाल धनुषाका सेफ हाउस इन्चार्ज रागिनी मिश्र लगायतको टोलीले आर्थिक सहायता प्रदान गरेको इन्सेक कार्यक्रम फोकल पर्सन बरुण बस्यालले जानकारी दिनु भयो ।

राधिकालाई क्षिरेश्वरनाथ नपा–५ बस्ने २८ वर्षीय अरुणकुमार साहले जेठ २४ गते करेन्ट लगाएर हत्या प्रयास गरेको आरोप छ ।

आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा असार ५ गते पीडितकी आमा अम्बिका कार्कीले उजुरी दिए पनि आरोपित हालसम्म ‘फरार’ रहेको प्रहरीले जनाएको छ ।

प्रेमविवाह गरेर आठ महिनादेखि जनकपुरको थापाचोकमा बस्दै आएकोमा जेठ १४ गते राधिकाले बाचा गरे अनुसार घर लग्न भनेपछि विवाद भएको थियो ।

त्यसपछि अरुणले हातगोडामा करेन्ट लगाएर हत्या प्रयास गरेको पीडित राधिकाले आरोप लगाउनु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते हुनुभएकी राधिकालाई धनुषा प्रहरीले उद्धार गरेर प्रादेशिक अस्पताल जनकपुरमा जेठ १४ गते पुर्‍याएको थियो ।

photo20220724dhanusha

करेन्ट लगाएर हत्या प्रयास घटनाकी पीडितको स्वास्थ्य अवस्थाबारे मानव अधिकारर्मीद्वारा अनुगमन

अन्य

भिडियो