उदयपुरगढी गाउँपालिका-२, सिरुवानीमा फेला परेको शक्तिशाली सकेट बम वैशाख १९ गते साँझ नेपाली सेनाले डिस्पोज गरेको छ । गाईबस्तुको लागि गोठ बनाउन घँडेरी बनाउने क्रममा भेटिएका ६ थान सकेट बम भवानी दल ताराघारी गुल्मले डिस्पोज गरेको हो ।

ताराघारी गुल्मका प्रमुख क्याप्टेन भरत गिरीको नेतृत्वमा सिरहाबाट आएको सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको उदयपुरका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । ‘बम फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरे ।’-प्रजिअ पराजुलीले भने-‘प्रहरी टोलीले शक्तिशाली बम नै भएको जानकारी दिएपछि सेनाको डिस्पोजल टोली पठाएर निष्कृय पारिएको हो ।’
वैशाख १८ गते स्थानीय गणेश गिरीले गाईबस्तुको लागि ग्वाली निर्माण गर्दा खाल्डो खन्नेक्रममा ६ थान बम फेला पारेका हुन् । बम शक्तिशाली जस्तो देखिएपछि स्थानीय त्रसित भएर प्रहरीलाई खबर गरेका थिए ।

बम डिस्पोज गरेपछि इलाका प्रहरी कार्यालयका कटारीका डिएसपी चिरञ्जिवी कोइरालाले सशस्त्र द्वन्दको क्रममा लुकाइराखेको हुन सक्ने आशङ्का व्यक्त गरे । त्यस क्षेत्रमा तत्कालीन माओवादी जनयुद्धको बेला माओवादीले आधार इलाका घोषणा गरेकाले ती बम लुकाएर राखेको हुन सक्ने उनको अनुमान छ ।