पत्रकार महासङ्घ चितवनका सदस्य भरतपुर महानगरपालिका–११ का २९ वर्षीय कृष्ण आचार्यलाई कुटपिट गरेको आरोपमा प्रहरीले ०७९ असार ३२ गते नेपाल विद्युत प्राधिकरण भरतपुर शाखामा कार्यरत सात जना कर्मचारीलाई गिफ्तार गरेको छ ।
पीडित पत्रकारले आफूलाई समाचार सङ्कलनका क्रममा विद्युत प्राधिकरण भरतपुर शाखामा कार्यरत कर्मचारीले ०७९ असार ३१ गते कुटपिट गरेको भन्दै आठ जना कर्मचारीविरुद्ध असार ३२ गते जिल्ला प्रहरी कार्यालयमा कुटपिट तथा अभद्र व्यवहार विरुद्ध उजुरी दिएका थिए ।
पीडित आचार्यले नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र भरतपुरका कार्यालय प्रमुख राजीव कुमार सिंहसहित आठ कर्मचारीविरुद्ध किटानी उजुरी दिनुभएको हो ।
उजुरी दिएकामध्ये कार्यालय प्रमुख सिंह बाहेकका सात जना कर्मचारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरहरि अधिकारीले बताउनुभयो ।
नियन्त्रणमा लिइएकाहरूमा कार्यालयका सुपरभाइजर इलेक्ट्रिकल पदमा कार्यरत जिवछ शाह, कार्यालयका सिनियर मिटर रिडर हेमन्त ढकाल, कार्यालयका फोरम्यान इलेक्ट्रिकल पदमा कार्यरत तुलसी देवकोटा, लेखापाल पदमा कार्यरत मञ्जिमान श्रेष्ठ, मिटर रिडर हेमशंकर चौधरी, लेखापाल हरि पौडेल र सुपरभाइजर इलेक्ट्रिकल आनन्दबहादुर कुवँर रहेका छन् ।
कार्यालय समयमा भएको गतिविधिबारे समाचार सङ्कलनका लागि वितरण केन्द्रमा पुगेका आचार्यलाई विद्युत विरण केन्द्रका कर्मचारीले कुटपिट गरेका थिए ।
कार्यालयभित्र भइरहेको गतिविधिको तस्वीर खिचेपछि आचार्यलाई कर्मचारीहरूले कुटपिट गर्दै लखेटेका थिए । उनीहरूले आचार्यको दुई ओटा मोबाइल सेटसमेत नियन्त्रणमा लिएका थिए ।