INSEC Online

📅 २०८३ जेष्ठ २१

डोल्पो बुद्ध गाउँपालिकाका नागरिकलाई सदरमुकाम जान बन्देज लगाइएको आरोप

डोल्पो बुद्ध गाउँपालिकाका नागरिकलाई सरकारी सेवा लिनका लागि काइके गाउँपालिकाका युवाहरूले सदरमुकाम दुनै जान बन्देज लगाएको डोल्पो बुद्ध गाउँपालिकाका स्थानीयबासीले आरोप लगाएका छन् ।

ब्यक्तिगत तथा सरकारी कामको सिलसिलामा सदरमुकाम दुनैतर्फ जाने क्रममा डोल्पो बुद्ध गाउँपालिकाका नागरिकलाई बाटो कुरेर काइके गाउँपालिकाका युवाहरूले कुटपिट गरी कसदरमुकाम जान रोक लगाएको आरोप उनीहरूको छ ।

डोल्पो बुद्ध गाउँपालिका–१ धो का नोर्वु थिन्ले लामा, डोल्मा लामा र गर्भवती महिला लुजुङ्ग गुरुङ्गलाई असार १९ गते सदरमुकामतर्फ जाँदै गरेको अवस्थामा काइके गाउँपालिकाका अमित बुढा, बमबहादुर ठकुल्ला, कैलाश मगर र पाल्जोर रोकायासहितका करिब १०/१२ जनाको सङ्ख्यामा रहेका युवाहरूले कुटपिट गरी सदरमुकाम आउन नदिएर बीच बाटोबाटै फर्काएको आरोप धो तरापका क्याल्पो थापा भोटेले लगाउनु भएको छ ।

जिल्ला कृषि विकास कार्यालय अन्तरगतका साना सिचाई योजना सम्पन्न गरी भुक्तानीको लागि धो तरापका नोर्वु थिन्ले लामा र डोल्मा लामा असार १९ गते सदरमुकामतर्फ जादै गर्दा ठूलीभेरी नगरपालिका– १ र काइके गाउँपालिकाको बीचमा पर्ने पाल्च खोला नजिक काइकेका युवाले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

लुजुङ्ग गुरुङ्ग स्वास्थ्य परीक्षणको लागि सदरमुकामतर्फ जादै हुनु हुन्थ्यो । डोल्पो बुद्ध गाउँपालिका–१ धो का तार्के लामा, कुन्जोम लामा, क्याल्पो थापा भोटे र धावा छिरिङ गुरुङ्गले संघीय सासंद धनबहादुर बुढा, पूर्व जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढा, काइके गाउँपालिका अध्यक्ष अंगत राना, नवनिर्वाचित जिल्ला समन्वय समितिका उपप्रमुख तेजेन्द्र रोकायाको निर्देशनमा अमित राना र पाल्जोर रोकाया सहितका करिब १०/१२ जनाको समूहमा रहेका युवाहरूले कुटपिट गरेको आरोप लगाउदै प्रहरी चौकी धोमा असार २० गते निवेदन दिनु भएको छ ।

क्याल्पो थापा भोटे लगायतका ब्यक्तिहरूले आफूप्रति लगाएको आरोप कपोकल्पित भ्रामक र चरित्र हत्या गर्ने उदेश्य रहेको बताउँदै आफ्नो लागि सबै नागरिक बराबर भएको सासंद धनबहादुर बुढाले बताउनु भयो ।

उहाँले भन्नु भयो म मात्र होइन काइकेका कुनैपनि नागरिकले यस्तो अमानवीय कार्य गर्दैनन । जिल्ला प्रहरी कार्यालय, डोल्पाका डीएसपी निरन्जन थापाले असार १९ गतेका दिन कुनै पनि नागरिकको अपहरण र कुटपिट भएको जानकारी प्रहरी कार्यालयमा नआएको बताउनु भयो ।

धो का युवाहरूलाई काइके गाउँपालिकाका युवाहरूले कुटपिट गरी सदरमुकाम आउन बन्देज लगाएको घटना के हो ? भन्ने विषयमा अनुसन्धान भइरहेको डीएसपी थापाले जानकारी दिनु भयो ।

dolpaphoto20220706

अन्य

भिडियो