INSEC Online

📅 २०८३ जेष्ठ २१

पञ्चदेवलमा भएको झडपमा परी १४ जना घाइते

पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै नाराजुलुस गरिरहेका आन्दोलनकारी र प्रहरीबिच असार २० गते शान्निकोट मन्दिर नजिक झडप हुँदा १४ जना घाइते भएका छन् ।

आन्दोलनकारीहरु सरकारी वकिल कार्यालयतर्फ जाने प्रयास गरेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको थियो ।

झडपमा परी नेपाल प्रहरीका प्रेमबहादुर धामी, धर्मबहादुर रोकाया, इन्द्रबहादुर थापा, विरजित चँदारा, निर्मला ऐर र भोलानाथ शर्मा घाइते भएका छन् भने आन्दोलनमा सहभागी रोशन शाही, बखत शाही, निराजन शाही, उपेन्द्र शाही, प्रतिभा शाही, पदम आउजी, मथुरा शाही र रोशन न्यौपाने घाइते भए ।

झडपका क्रममा घाइते भएका प्रहरी र अन्दोलनकारी सबैको उपचार जिल्ला अस्पताल, अछाममा गरेपछि फर्किसकेका जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कैलाशसिंह विष्टले बताउनु भयो ।

झडपको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड हवाइ फायर र अश्रुग्यास प्रहार गर्नुको साथै लाठ्ठी चार्ज गरेको थियो ।

१६ वर्षीय विनोदको जेठ २१ गते हत्या गरिएको भएपनि पीडित पक्षले न्याय पाउन नसकेको भन्दै जिल्लास्थित पाँच राजनीतिक दलले असार १९ गतेदेखि यातायातका साधानहरु बन्द गरेका छन् ।

पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको हत्याका योजनाकार रहेको भन्दै पञ्चदेवल विनायक नगरपालिकाकी प्रमुख अम्बिका चलाउने र स्थानीय नेत्रबहादुर शाही लगायत १३ जनाविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

हत्याको आरोपमा कालिकास्थानकै पाँच जनालाई यसअघि प्रहरीले गिरफ्तार गरी अनुन्धान गरिरहेको छ भने अन्य ६ जना ‘फरार’ रहेका छन् ।

आरोपित मध्येका पञ्चदेवल विनायक नगरपालिकाकी प्रमुख चलाउने र स्थानीय शाही असार १८ गते मात्रै जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए । आरोपित चलाउने र स्थानीय शाहीलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

जेठ १७ गते बेलुकीबाट सम्पर्कविहीन विनोदको शव पाँच दिनपछि पञ्चदेवल क्याम्पस नजिक मध्यपहाडी सडकभन्दा तल खोचमा फेला परेको थियो ।

अन्य

भिडियो