चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाउने सुविधाको गाडी अशक्त, अपाङ्ग, जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने गरी चाँगुनारायण अस्पताललाई हस्तान्तरण गर्नु भएको छ ।
उहाँले उपप्रमुखले पाउने सुविधाको गाडी जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले ०७९ जेठ २७ गते चाँगुनारायण अस्पतालका प्रमुख लोकेन्द्र पौडेललाई हस्तान्तरण गर्नु भएको हो ।

उपप्रमुख बुढाथोकीले भन्नुभयो, “मैले चुनाव अगाडि मतदातासँग गरेकाे बाचा अनुसार नगरपालिकाबाट पाउने गाडी नगर अस्पताललाई हस्तान्तरण गरेको छु ।”
साथै उहाँले भन्नुभयो- “मेरो सुबिधाको गाडी नगर क्षेत्र भित्र रहेका बृद्धबृद्धा, शारीरिक अशक्त, दीर्घ रोगी, बिरामीहरूलाई घरदैलोमै गई चिकित्सकीय सेवा प्रदान गर्ने हेतुले अस्पताललाई हस्तान्तरण गरेको हुँ, नगरपालिकाबाट पाउने कुनै पनि सुबिधा म लिन्न ।”
उहाँले नगरपालिकाबाट पाउने गाडी, पेट्रोल, तलब, भत्तालगायतका अतिरिक्त कुनै पनि सुबिधा नलिने घोषणा समेत गर्नु भयो ।
सफल व्यवसायीसमेत रहनु भएका उपप्रमुख बुढाथोकीले भन्नुभयो, “मैले पाउने तलब, भत्ता पनि छुट्टै कोष खडा गरेर नगर क्षेत्रका गरिब जेहेन्दार विद्यार्थीको पठनपाठन, एकल महिला, अपाङ्ग अशक्त व्यक्तिहरूको बृद्धि विकासको क्षेत्रमा, महिला उद्यमशिलता एवम् स्वरोजगारको क्षेत्रमा खर्च गर्नेछु ।”
उपप्रमुख बुढाथोकीले नगरपालिकाको समग्र विकासमा अबको पाँच वर्ष सक्रिय भएर लाग्ने बताउनु भयो ।
