INSEC Online

📅 २०८३ जेष्ठ २१

बन्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप, प्रहरीद्वारा फोहोर बिसर्जनमा अवरोध गर्ने १८ जना गिरफ्तार

काठमाडौँ उपत्यकाबाट फोहोर फ्याँक्न लागिएका गाडीलाई धादिङ र नुवाकोटको सीमाना बन्चरेडाँडामा स्थानीयबासीले अवरोध गरेपछि प्रहरीसँग झडप भएको छ ।

स्थानीयसँगको झडपका क्रममा प्रहरीले बाटोको अवरोध खुलाउन तीन सेल अश्रुग्याँस पनि प्रहार गरेको छ ।

बन्चरेडाँडा सङ्घर्ष समितिका संयोजक समेत रहेका श्रीराम ढुङ्गानाले आफूँसहित८ जना स्थानीयलाई प्रहरीले गिरफ्तार गरेको इन्सेक जिल्ला प्रतिनिधिलाई बाउनु भयो ।

गिरफ्तार सबैलाई इलाका प्रहरी कार्यालय ककनीमा राखिएकोमा १६ जना  साँझ रिहा भए भने  ढुङ्गाना र श्रीहरि बजगाईँलाई प्रहरीले सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउने जनाएको छ ।

ढुङ्गानाका अनुसार प्रहरीको कुटाईबाट दुईजना स्थानीय पनि घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा पठाइएको उहाँले बताउनुभयो ।

सङ्घर्ष समितिका संयोजक ढुङ्गानाले राज्यले वर्षौंदेखि मौलिक हक, मानव अधिकारको हनन गरेकाले आफूहरू आन्दोलित हुन बाध्य भएको उल्लेख गर्नुभयो ।

लामो समयदेखि थुप्रिएको सिसडोलको फोहोरको व्यवस्थापन नहुँदासम्म आफूँहरूले बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्न अवरोध पुर्‍याउने उहाँले बताउनुभयो ।

सहरी विकास मन्त्रालयले जेठ २३ गते स्थानीय जनप्रतिनिधिसँग स्थानीयका माग सम्बोधन गर्ने भनेर लिखित सहमति गरे पनि स्थानीय सङ्घर्ष समितिसँग आबद्ध स्थानीयले आफूँहरूसँग सल्लाह नगरी जनप्रतिनिधिसँग उक्त सहमति गरिएको भन्दै आन्दोलित भएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार स्थानीयले अवरोध गर्ने जानकारी पाएपछि फोहोर व्यवस्थापनका लागि गएका गाडीको सुरक्षाका लागि काठमाडौंबाट डीएसपीको कमान्डमा १ सय ९५ जना प्रहरी र ३५ जना सशस्त्र प्रहरीको टोली त्यस ठाउँमा खटाइएको थियो ।

घटनाबारे आफूँहरू सुरक्षामा खटिएको टोलीसँग बिवरण माग गरिरहेको मैनालीले बताउनुभयो ।

स्थानीयको अवरोधपछि दुई ओटा ट्रिपरले फोहोर फाले पनि अन्य ट्रिपरहरू फोहोर नफाली काठमाडौँ फर्किएका छन् ।

अन्य

भिडियो