शैक्षिक सत्र सुरू भएको एक महिना नाघिसक्दासमेत विभिन्न जिल्लाहरूमा पाठ्यपुस्तकको अभाव रहेको जिल्ला प्रतिनिधिहरूले जनाएका छन् ।
सल्यान प्रतिनिधि मिना बुढाथोकीका अनुसार झण्डै ३३ हजार विद्यार्थीले अझै सम्मपनि पाठ्यपुस्तक पाउन नसक्दा पठनपाठनमा समस्या भएको छ । समयमै पाठ्यपुस्तक प्राप्त गर्न नसक्दा पठनपाठनमा अन्यौलता छाएको विद्यार्थीहरूको गुनासो छ ।
बनगाड कुपिण्डे नगरपालिकाको बामेस्थित मुक्ति माध्यमिक विद्यालयमा पढ्दै आएका १५ वर्षीय उमेश बुढाथोकी जेठ ८ गते कक्षा ९ मा भर्ना हुनु भयो । तर, आफूले अहिलेसम्म पनि किताब नपाउँदा समस्या भएको उहाँको भनाइ छ ।
यस्तै, कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरका १५ वर्षीय दीपक रावत पनि एक साताअघि नै त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ९ मा भर्ना हुनु भयो ।
भर्ना भएदेखि नयाँ पुस्तक पाउने आशामा उहाँ दैनिकजसो विद्यालय धाउने गरेको बताउनुहुन्छ । उहाँले पनि अहिलेसम्म पुस्तक पाउन नसकेको बताउनु भयो ।
केही वर्ष अघिदेखि विद्यार्थी भर्ना गर्ने बित्तिकै सरकारले उनीहरूको हातहातमा पाठ्यपुस्तक उपलब्ध गराउने कार्यक्रम ल्याएको छ ।
तर, जिल्लामा विद्यालय सञ्चालन भएको दुई साताभन्दा बढी भइसके पनि सल्यानका १० स्थानीय तहमा ४ सय ४३ सामुदायिक विद्यालयका ३३ हजार १ सय ४५ विद्यार्थीले पुस्तक पाउन सकेका छैनन् ।
पाठ्यपुस्तक नपाउँदा विद्यार्थीहरू विद्यालय जाने र हाजिर भएर मात्र फर्किने गरेका छन् । सरकारले भर्ना हुनेबित्तिकै विद्यार्थीलाई पुस्तक उपलब्ध गराउने भने पनि जनक शिक्षा सामग्री केन्द्रले समयमै पुस्तक प्रकाशन गर्न नसकेको भन्दै विक्रेताले ल्याउन आनाकानी गरिरहेका छन् ।
विद्यालयमा पुस्तक नभएको र पुस्तक अभावका कारण केहि समयपछि मात्रै विद्यालय सञ्चालनमा आउने खबर पाएपछि बनगाड कुपिण्डे नगरपालिका–७ को कृष्ण माध्यमिक विद्यालय संग्रहीमा कक्षा ८ मा भर्ना भएका नविन रोकाले खेतीपातीमा लागेको जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो–‘मेरो रोजाइ भनेको पहिला पढाइ हो । त्यसपछि खेतीपाती हो उनले भने, ‘विद्यालय नै नखुलेपछि घर बसेर के गर्नु ? त्यही भएर अभिभावकलाई सघाउन खेतीपातीमा जुटेको छु ।’
मुक्ति मावि बामेका प्रधानाध्यापक नोखिराम बीएमले पाठ्यपुस्तक नआएकाले विद्यालयमा पठनपाठन हुन नसकेको बताउनु भयो ।
उहाँले पाठ्यपुस्तकका लागि बिक्रेतालाई ताकेता गरेको र आउनेबित्तिकै कक्षा सञ्चालनमा आउने दावी गर्नु भयो ।
त्रिभुवन मावि च्युराका प्रधानाध्यापक गुमानसिंह विष्टले अहिलेसम्म विद्यालयका ३० प्रतिशतले मात्र पुस्तक पाएको बताउनुभयो पुस्तक कम आए पनि आंशिक रूपमा पठनपाठन भने सुरु गरेको उहाँको भनाइ छ ।
‘पुस्तक आउन अझै केही समय लाग्ने देखिन्छ । हामीले व्यवसायीलाई ताकेता गरिरहेका छौ ।’–उहाँले भन्नु भयो ।
यहाँका १० ओटै स्थानीय तहका शिक्षा प्रमुखहरूले पाठ्यपुस्तकका लागि चैतमै रकम निकासा गरेर विद्यालयको खातामा पठाइसकेको भए पनि विद्यालयले पाठ्यपुस्तक वितरण गर्न नसकेको बताएका छन् ।
शारदा नगरपालिकाकी शिक्षा शाखा प्रमुख सङ्गीता भण्डारीले नगरभित्रका ५८ ओटा सामुदायिक विद्यालयमध्ये ४० ओटामा पुस्तक पुगिसकेको र अन्यका लागि आउने तयारी भइरहेको बताउनु भयो ।
कुमाख गाउँपालिकाका शिक्षा प्रमुख दीपक चन्दले चैतमै पुस्तकका लागि विद्यालयलाई भुक्तानी दिए पनि अहिलेसम्म पुस्तक आउन नसक्नु विद्यालयको पनि कमजोरी रहेको बताउनु भयो ।
उहाँका अनुसार गाउँपालिकाभित्र ४८ सामुदायिक विद्यालयमा ६ हजार ७ सय विद्यार्थी भर्ना भए पनि २ हजार ५ सय विद्यार्थीले अझै किताब पाउन नसकेको बताउनु भयो ।
पाठ्यपुस्तक विक्रेता महासङ्घका वरिष्ठ उपाध्यक्ष डम्मर केसीले अहिलेसम्म १ करोड २० लाख रुपैयाँको ३८ हजार ८ सय ५५ थान पुस्तक जिल्लामा भित्रिएको जानकारी दिनु भयो । उहाँका अनुसार भित्रिएकामध्ये सबै पुस्तक विद्यालयमा पुग्न सकेको छैन ।
शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लालबहादुर घर्तीले निर्वाचनका कारण जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छाप्न ढिलाइ गरेकाले विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउन नसकेको बताउनु भयो ।
मुगु प्रतिनिधि जीवन सेजुवालका अनुसार शैक्षिक क्षेत्र सुरू भएको दुई महिना पुगिसक्दा समेत जिल्लाका चारै स्थानीय तहका विद्यालयहरूका लागि विक्री वितरण गर्न जिम्मा पाएका फर्महरूले पाठ्यपुस्तक नपु¥याउँदा विद्यार्थीहरूको पढाइमा बाधा पुगेका छ ।
जिल्लाका चार स्थानीय तहले आआफ्ना विद्यालयका लागि स्थानीय फर्मलाई जनक शिक्षा सामग्री केन्द्र सुर्खेतबाट खरिद गरी विक्री वितरण गर्ने जिम्मा दिएको भएपनि जिम्मा पाएका फर्महरूले समयमै पाठ्यपुस्तक उपलब्ध नगराउँदा विद्यार्थीलाई पढाइमा बाधा भएको हो ।
पाठ्यपुस्तक नहुँदा जिल्लाभरका चार स्थानीय तहका १९ हजार भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित भएको छ ।
शैक्षिक शत्र सुरु भएको दुई महिना पुगिसक्दा पनि सम्बन्धित निकायले पाठ्यपुस्तक नुप¥याउँदा छाँयानाथ रारा नगरपालिका—३ स्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय तलितुमा कक्षा ५ मा अध्यनरत असौजी बिकले दुई महिनसम्म बोर्डको भरमा पढेको बताउनु भयो ।
सोही विद्यालयमा उक्त कक्षामा पढ्ने अमित्रा रोकायाले हाम्रो हातमा कहिले पुस्तक आउँछ थाहा छैन पाठ्यपुस्तक खोज्न बजारमा दुई पटक पुगिसक्दा समेत आपूmले पुस्तक नपाएको बताउनु भयो ।
वैशाखबाट नयाँ शैक्षिक शत्र सुरु भएको यस जिल्लामा १ सय २४ आधारभुत विद्यालय र २६ माध्यमिक विद्यालय छन् ।
जिल्लाभर कुल १० हजार २ सय २५ छात्र ८ हजार ९ सय ४५ छात्रा गरी १९ हजार १ सय ७० विद्यार्थी अध्यनरत छन ।
नयाँ शैक्षिक शत्र सुरू भएको दुई महिना हुन लाग्दा समेत स्थानीयतहबाट पाठ्यपुस्तकको विक्री वितरणको जिम्मा लिएका फर्महरूले पाठ्यपुस्तक समयमै आआफ्ना स्थानीय तहमा पुर्याउन नसक्दा जिल्लाभरका विद्यार्थीहरूको पढाइमा बाधा पुगेका शिक्षा समन्वय इकाई मुगुका प्रमुख सुर्य खत्रिले बताउनु भयो ।
जिल्लाका चारै स्थानीय तहले आआफ्नै स्थानीय फर्महरूलाई जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशबाट पाठ्पुस्तक खरिद गरी विक्री वितरण गर्ने जिम्मा दिएका छन् ।
छायाँनाथ रारा नगरपालिकामा जयलक्ष्मी पुस्तक पसल, खत्याड गाउँपालिकाका लागि ए वान फेन्सि कलेक्सन एण्ड सप्लायर्स, मुगुम कार्मारोङ गाउँपालिकामा युके जनरल तथा स्टेशनरी सप्लायर्सले र सोरु गाउँपालिमा किरण जनरल स्टोरले जिम्मा पाएका छन् ।
विद्यालयमा शिक्षकले बोर्डमा पढाउँदै आएका छन् त्यही पढाइले बालबालिकाको भविष्य कस्तो होला छायाँनाथ रारा नगरपालिका–५ डिल्ली बिकले बताउनु भयो ।
जिल्लाका चारै स्थानीय तहले पाठ्य पुस्तकको विक्री वितरणको जिम्मा लिएका फर्महरूलाई छिटोभन्दा छिटो पाठ्यपुस्तक ढुवानीका लागि ताकेता गरेका छन् ।
अहिलेसम्म जनक शिक्षा सामग्री केन्द्र सुर्खेतबाट मुगुम कार्मारोङ गाउँपालिकाका लागि पाठ्यपुस्तकको जिम्मा लिएको युके जनरल स्टेशनरी सप्लायर्सले मात्र बुझी लिएको र दुई दिन भित्र आफ्नो स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुर्याई सक्ने उक्त सप्लार्यसका प्रोपाईटर उर्गिन नम्डुल तामाङले जानकारी दिनु भएको छ ।
छायाँनाथ रारा नगरपालिकाको जिम्मा लिएको जयलक्ष्मी पुस्तक पसलका कृष्णप्रसाद भामले एक साताभित्र पाठ्यपुस्तक उपलब्ध गराउने बताउनु भयो ।
सोरु र खत्याड गाउँपालिकाको जिम्मा लिएको फर्मका प्रोपाईटरहरूले पनि ढिलोमा एक साताभित्र पाठ्यपुस्तक उपलब्ध गराउने बताउनु भएको छ ।
विद्यालयहरूले आफ्नो विद्यालयका विद्यार्थीको तथ्याङ्क समयमै पाठ्यपुस्तकको विक्री वितरण गर्न लिएका फर्महरू नबुझाउँदा समेत पुस्तक खरिदमा ढिलाई भएको ति फर्मका प्रोपाईटरले बताउनु भएको छ ।
‘पाठ्यपुस्तक नहुँदा विद्यार्थीहरूलाई दैनिक पढाइमा बाधा भएको छ । विद्यार्थीलाई ह्वाइट बोर्डमा लेखेर विद्यार्थीलाई पढाउने गरेका छौँ ।’–श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक दिलिप शाहीले भन्नु भयो–‘बालबालिकाले त्यही ह्वाइट बोर्डको भरमा पढिरहेका छन् ।’
जाजरकोट प्रतिनिधि दिनेशकुमार श्रेष्ठका अनुसार नयाँ शैक्षिक सत्र सुरू भए पनि पाठ्यपुस्तक प्राप्त नहुँदा जिल्लाका सामुदायिक विद्यालयको पठनपाठनमा समस्या भएको छ ।
नयाँ पाठ्यपुस्तक नपाउँदा विद्यार्थी र शिक्षक दुवैलाई समस्या भएको हो । नयाँ शैक्षिक सत्र सुरू भएपछि पाठ्यपुस्तक नआउँदा अध्ययन गर्न, गृहकार्य गर्न समस्या भएकोे भेरी नगरपालिका–३ खलङ्गामा रहेको त्रिभुवन माध्यामिक विद्यालयको कक्षा ७ मा अध्ययनरत छात्रा सक्षम कार्कीले गुनासो गर्नु भयो ।
जिल्लाका अधिकांश विद्यालयमा पुराना पुस्तकबाट अध्ययन अध्यापन भइरहेको शिक्षकहरूले बताएका छन् ।
इ–पुस्तकालय जडान गरिएका विद्यालयमा त केही समस्या कम होला तर हाम्रो जस्तो इ–पुस्तकालय जडान नभएको विद्यालय र यस्तै अन्य विद्यालयमा पठनपाठनमा समस्या देखिएको भेरी नगरपालिका–१ कालेगाउँमा रहेको शिव व्यवसायिक माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलक खत्रीले बताउनु भयो ।
जेठ महिना सकिन केही दिन मात्र बाँकी रहँदासम्म कुनै पनि विद्यालयमा पाठ्यपुस्तक नआएको नलगाड नगरपालिका शिक्षा शाखा प्रमुख दलवीर बिकले बताउनु भयो ।
निर्वाचनको मतपत्र छाप्ने कार्यले गर्दा विद्यालयको पाठ्यपुस्तक छाप्न ढिला भएको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ भने पुस्तक नआएसम्म पुराना पुस्तक बाँडेर पठनपाठन गराउन निर्देशन दिएको समेत शिक्षा विकास तथा समन्वय इकाई जाजरकोटका प्रमुख रमेशबहादुर मल्लले बताउनु भएको छ ।
कालिकोट प्रतिनिधि कालिबहादुर मल्लका अनुसार नयाँ शैक्षिक सत्र सुरू भएको एक महिना पुग्न लाग्दा पनि यस जिल्लामा पाठ्यपुस्तक नपुगेपछि सामुदायिक विद्यालयको पठनपाठनमा समस्या भएको छ ।
नयाँ पाठ्यपुस्तक नपाउँदा भर्ना भएका विद्यार्थीलाई पठनपाठनमा समस्या भएको हो ।
सामुदायिक विद्यालयका कक्षा १ देखि १० सम्म विद्यालयमा पाठ्यपुस्तक नपुगकाले समस्या उत्पन्न भएको खाँडाचक्र नपा–८ स्थित लिङ्गासैनी माविमा कक्षा ६ मा अध्यनरत विद्यार्थी सुस्मिता परियारले गुनासो गर्नुभएको छ ।
नयाँ शैक्षिक सत्र सुरू भएपछि पाठ्यपुस्तक नआउँदा अध्ययन गर्न, गृहकार्य गर्न समस्या भएको शुभकालिका गाउँपालिका–१ जनता मावि छातिमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी हरिकला बुढा मगरले बताउनु भयो ।
जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छपाइमा ढिलाइ गरेका कारण समयमा पुस्तक नपुगेको शिक्षा समन्वय इकाइ कालिकोटका निमित्त प्रमुख प्रकाश धितालले बताउनु भयो ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार शैक्षिक सत्र सुरू भएको तीन सातासम्म पाठ्यपुस्तक अभावले पठनपाठन प्रभावित वनेको छ ।
जेठ पहिलो साताबाट पठनपाठन सुरू गरेको विद्यालयका विद्यार्थीको हातमा किताब पुग्न नसक्दा पठनपाठन प्रभावित बनेको हो ।
जेठ ९ गतेबाट पठनपाठन सुरू गरेको अमरज्योती जनता मावि लुइटेलका आधा विद्यार्थीको हातमा किताब छैन ।
केही विद्यार्थीले भने पुरानो पाठ्यपुस्तक प्रयोग गरेको अमरज्योति जनता माविका प्रधानाध्यापक माधवराज देवकोटाले बताउनु भयो ।
‘पाठ्यपुस्तक नहुँदा होमवर्क दिन पनि कठिन भएको छ ।’–उहाँले भन्नु भयो–‘नयाँ कोर्ष शिक्षकहरूले नेटबाट डाउनलोड गरेर पनि पढाउनु भएको छ । तर, विद्यार्थीलाई किताब नहुँदा अघिल्लो दिन पढाएको पाठ भोलिपल्ट बिर्सन्छन् ।’
१ देखि ३ कक्षासम्मको पुस्तक आएपनि अन्य कक्षाका विद्यार्थी किताबविनै विद्यालय आउने गरेको महेन्द्र संसारी माविका शिक्षक भोजराज कोइरालाले बताउनु भयो ।
पाठ्यपुस्तक अभावले विद्यार्थीलाई विषयवस्तु बुझाउन, गृहकार्य दिन समस्या परेको उहाँको भनाइ छ ।
नेपाल पुस्तक तथा स्टेशनरी महासङ्घ गण्डकी प्रदेशका सहसचिव प्रदिप खनालका अनुसार जिल्लामा हालसम्म १५ देखि २० प्रतिशत किताब आएको छ ।
४, ६, ९ र १० कक्षाका किताब अभाव रहेको उहाँले बताउनु भयो । ‘किताब खोज्दै शिक्षकहरू आउनुहुन्छ । बजारमै किताब छैन ।’–उहाँले भन्नु भयो ।