५२ औँ विश्व वातावरण दिवस (जुन, ५) को अवसरमा राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको संयुक्त आयोजनामा “सङ्घीय संरचनामा मानव अधिकारको दृष्टिकोणबाट प्रकृतिक स्रोतको व्यवस्थापन” सम्बन्धमा अन्तरक्रिया सम्पन्न भएको छ ।
“पृथ्वीको संरक्षण, दिगो प्रकृतिमैत्री जीवनयापन” भन्ने राष्ट्रिय नाराका साथ विश्व वातावरण दिवसको सन्दर्भमा ०७९ जेठ २३ गते अन्तरक्रिया भएकोे हो ।
नेपालको संविधानद्वारा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनै तहका निकायलाई प्राकृतिक स्रोतको बाँडफाँड तथा व्यवस्थापनको अधिकार प्रदान गरिएको तर अधिकारमा स्पष्टता हुन नसक्दा विवाद सिर्जना हुने गरेको छलफलको सहभागीहरूले बताए ।

संविधानको प्रस्तावना, निर्देशक सिद्धान्त, मौलिक हक, राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस एवम् सर्वोच्च अदालतबाट भएका आदेशहरूलाई केन्द्रमा राखेर प्रकृतिक स्रोतको बाँडफाँड हुनुपर्ने उल्लेख गर्दै वातावरण संरक्षणसम्बन्धी एक स्वतन्त्र, स्वायत्त र दक्ष जनशक्तिसहितको संरचनाको निर्माण हुनुपर्ने सहभागीहरूको सुझाव छ ।
विकास निर्माणका नाममा प्रकृतिको अत्याधिक दोहन, गिट्टी, बालुवा, ढुङगा जस्ता प्राकृतिक श्रोतहरूको अनियन्त्रित उत्खनन, चुरे क्षेत्र दोहन, अव्यवस्थित सहरीकरण लगायतका कारण वातावरण प्रदूषण बढ्दै गइरहेकोप्रति अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरे ।
वातावरण प्रदूषणका कारण विश्वका मानव मात्र नभई जीवजन्तु र वनस्पति समेत प्रभावित बनेको उनीहरूको धारणा थियो ।
वातावरण संरक्षणसम्बन्धी कानुनहरू प्रभावकारी नहुँदा वर्तमान अवस्थामा वातावरणको अधिकारका अभियन्ताहरूको अधिकार समेत जोखिममा परेको धारणा प्राकृतिक श्रोत व्यवस्थापन कानुनका ज्ञाता डिल्लीराज खनालको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेललगायतले पृथ्वीमा सृष्टि भएका जिवात्माहरूको अरु कहिँ पनि बासस्थान नभएकाले पनि पृथ्वीमा वातावरण संरक्षण गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा आयोगका सदस्यहरू, सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसी, आयोगका सचिव, ललितपुर महानगरपालिकाका उपप्रमुख मन्जली शाक्य आस्थालगायतले स्थानीय सरकारलाई श्रोत, सीप र प्रविधि सहिहतको सहयोगको खाँचो आँल्याउनु भयो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ताहरू, कानुन व्यवसायी, वातावरण विज्ञहरू, आयोगका कर्मचारीहरू तथा सञ्चारकर्मीहरूले मानिसलगायत अन्य जनावर अनि उनीहरूसँगको सहअस्तित्व सबैलाई ज्ञात हुनुपर्ने उल्लेख गर्दै घडेरी र खेत, जीवन र प्रकृतिबीचको सम्बन्ध सबैले बुझ्नु पर्नेमा जोड दिए ।
