INSEC Online

📅 २०८३ जेष्ठ २१

रोल्पा कारागारमा मृत्यु प्रकरणः इन्सेक सम्मिलित अधिकारकर्मीहरुद्धारा स्थलगत अनुगमन

रोल्पा कारागारमा सुन्दर हरिजन मृत्यु प्रकरणमा इन्सेक सम्मिलित अधिकारकर्मीहरुद्धारा जेठ १९ गते स्थलगत अनुगमन गरेको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश संयोजक भोला महत, एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतम, नेपालगञ्ज उच्च अदालत बार एशोसिएशन मानव अधिकार तथा जनसरोकार समितिका संयोजक झबिन्द्रप्रसाद पौडेल, रोल्पा जिल्ला बार एशोसिएशनका अध्यक्ष टेकमप्रसाद घर्ती, नागरिक समाजका अगुवा तथा नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष खेम बुढा मगर, कान्तिपुर दैनिकका सह सम्पादक तथा नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष काशिराम डाँगी, कान्तिपुर टेलिभिजनका मिनराज रोका र इन्सेक जिल्ला प्रतिनिधि तिलक घर्ती लगायतको टोलीले घटना स्थलको अनुगमन गरेको हो ।

उक्त टोलीले रोल्पा कारागार जेलर विशाल खनाल, जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर थमन जिसी, प्रमुख जिल्ला अधिकार नबराज सापकोटा र कारागारमा रहेका कैदी बन्दीहरूलाई भेटेर घटनाको जानकारी लिएका छन् ।

अधिकारकर्मीहरूले यस अघि पीडित परिवार, बाँके कारागार, प्रशासनसँग घटनाबारे जानकारी लिएको थियो ।

photo2022060301rolpa

चोरी मुद्दामा रोल्पा कारागारमा रहेका सुन्दर हरिजनको ०७९ जेठ ४ गते शौचालय भित्र झुण्डिएको अवस्थामा फेला परेपछि हरिजन मृत्युको घटना शंकाष्पद बनेको छ ।

चोरी मुद्दाको कारण पुर्पक्षका लागी कारागार चलान भएका सुन्दर हरिजन अदालतको फैसला बमोजिम छुट्न पर्नेमा हरिजनको नामबाट हातहतियार खरखजना मुद्दाका विजय बिक्रम शाह छुटेको र कैद भुक्तानी गरि पहिले छुट्नु पर्ने सुन्दर हरिजनको रोल्पा कारागारमा मृत्यु भएको घटनालाई पीडित परिवारलगायत अधिकारकर्मीहरुले आशंकाको रुपमा लिएका छन् ।

पछिल्लो समय सुन्दर हरिजन मृत्यु प्रकरण राष्ट्रियरुपमा चासो र चिन्ताको विषय बनेको छ ।

उक्त घटनाका बारेमा नेपाल सरकारले गृह मन्त्रालयका सह सचिव सुर्यप्रसाद सेढाईको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।  उक्त टोली  जेठ २० गते रोल्पा आउने बताइएको छ ।

अन्य

भिडियो